फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन सम्बन्ध प्रगाढ रहेको नेपालका सभामुखको भनाइ

(GMT+08:00) 2018-09-08 14:07:42

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको 'चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८' को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताउनुभयो। 'आज तिब्बत दुई देशबीचको सम्बन्ध, व्यापार, पर्यटन, संस्कृति एवं अन्य चासोका क्षेत्रको द्वारका रुपमा रहेको छ', उहाँले भन्नुभयो।

सभामुख महराले केही दशकयता तिब्बतले आर्थिक एवं भौतिक पूर्वाधारमा प्राप्त गरेको सफलता प्रदर्शनीमा देख्न सकिने बताउनुभयो। पर्यटन तथा साँस्कृतिक प्रदर्शनीमा राखिएका सामग्री, कार्यक्रम, व्यापारिक कक्ष एवं विधागत मञ्च हेर्दा आफूले तिब्बत वास्तविक उत्पादन, व्यापार, संस्कृति, धार्मिक एवं पर्यटकीय गन्तव्य भएको पाएको धारणा राख्नुभयो। प्रदर्शनीमा नेपाल पनि सहभागी भएको चर्चा गर्दै सभामुख महराले यसबाट चीनमा नेपाली सामग्रीको निर्यात बढ्ने र चीनसँग रहेको व्यापार घाटा कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपाल पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै सभामुख महराले भन्नुभयो, 'बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रमा रहेका अवसरलाई दुई पक्षबीच अभूतपूर्व सहकार्य हुन सक्ने देखेका छौं। नेपाल र चीनको तिब्बत बीचका अन्य धेरै सीमा विन्दु द्विपक्षीय व्यापारमा प्रयोग गर्न सक्छौं।'

आगामी दिनमा दुई देशबीचका नयाँ सीमा विन्दु पहिल्याएर व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न पर्यटन तथा साँस्कृतिक प्रदर्शनीले सहयोग गर्ने सभामुख महराले विश्वास व्यक्त गर्नुभयो।

नेपाल र चीनको तिब्बतबीच १ हजार ४ सय १४ किलोमिटर लामो सीमाना रहेको चर्चा गर्दै सभामुख महराले नेपाल र तिब्बत बीचको सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक सम्बन्ध हजारौं हजार वर्ष पुरानो रहेको बताउनुभयो।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध निकै उत्कृष्ट र प्रगाढ रहेको बताउँदै सभामुख महराले नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाउनुका साथै आफ्नो मुलुकभित्र चीन विरुद्ध कुनै गतिविधि हुन नदिनेमा प्रतिबद्धता रहेको स्मरण गराउनुभयो।

जानकारी तथा लेखहरु