फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एक विद्यालय, एक बगैंचा नीति लगाइँदै

(GMT+08:00) 2018-09-08 14:08:46

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार 'एक विद्यालय एक बगैंचा' अवधारणा अघि सारिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति तथा कार्यक्रममा विद्यार्थीहरूको स्वास्थ्य र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिँदै उनीहरूलाई हरित ईको क्लबमा आबद्ध गर्ने लक्ष्य राखिएको छ । शैक्षिक संस्थाहरूलाई वातावरणमैत्री बनाउन वृक्षरोपण, फूलबारी निर्माण र सरसफाइ गर्न मन्त्रालयले जोड दिएको हो ।

विद्यालयहरूमा प्रत्येक दिन खेलकुद, व्यायाम, योग र ध्यानजस्ता अतिरिक्त क्रियाकलाप प्याकेजमा सञ्चालन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । ३९ औं शिक्षा दिवस र ५२ औं साक्षरता दिवसको अवसरमा मन्त्री पोखरेलले नीति तथा कार्यक्रम अघि सार्नुभएको कान्तिपुरले लेखेको छ।

कम्तीमा 'एक विद्यालय एक बालविकास केन्द्र' सञ्चालन गर्न स्थानीय तहहरूले केन्द्रहरूको पुनर्वितरण गर्ने नीति कार्यक्रममा उल्लेख छ । तीनवटै सरकारको साझेदारीमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिइएको छ। माध्यमिक विद्यालयहरूमा अनुभवी र उत्कृष्ट शिक्षकमध्येबाट प्रधानाध्यापक चयन गर्न कानुनी व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ । ७ सय ५३ वटै स्थानीय तहमा नमुना विद्यालयको स्थापना गर्ने घोषणामा उल्लेख छ ।

जानकारी तथा लेखहरु