फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट असारदेखि अन्तर्राष्ट्रिय उडान

(GMT+08:00) 2018-09-09 14:41:47

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते (२८ जुन २०१९) देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिएको छ। हाल यो विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमास्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको जानकारी दिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

विमानस्थलका लागि आवश्यक प्राविधिक उपकरण जडानका निम्ति दुई साताभित्रै प्रस्ताव आह्वानको तयारी गरिएको छ। प्राविधिक उपकरण ६ महिनाभित्रै जडान गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गर्दै विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको प्राधिकरणले जानकारी दिएको छ।

एसियाली विकास बैंक (एडीबी)को करिब साढे ६ अर्ब रुपैयाँ ऋणमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण गरिरहेको छ। यो विमास्थलको भौतिक संचरनासँगै आवश्यक प्राविधिक उपकरण पनि जडान गर्न उपयुक्त कम्पनीमार्फत प्रस्ताव आह्वान तयारी भइसकेको छ। यो विमानस्थबाट असार १३ देखि अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी तयारी भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'प्राधिकरणले एडीबीको ऋण सहयोगमा धानमार्गसहितको टर्मिनल भवनको निर्माण गरिरहेको छ।

प्राधिकरणले एक अर्ब रुपैयाँको प्राविधिक उपकरण राख्ने र ८० करोडमा कार्गो भवन बनाउने काम पनि अगाडि सारिसकेको छ। विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गइरहेकाले अगामी असारबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने बुझाइ श्रेष्ठको छ।

यो विमानस्थल सञ्चालन गर्नु पहिले अन्तर्राष्ट्रिय उडान सुरु गर्न इच्छुक कम्पनीलाई आग्रह गर्नुपर्छ। यसका लागि अन्तर्राष्ट्रिय नियमअनुसार कम्तीमा तीन महिनाको समय दिएर विदेशी वायुसेवालाई बोलाउने र उडान तालिका उपलब्ध गराउनुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवालाई उडान आग्रहका लागि रोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी)मा तीन महिना अगाडि नै सूचना जारी गर्नुपर्ने हुन्छ। हामीले विमानस्थलको काम सकिने तयारी गरेपछि र सञ्चालन गर्न सक्ने अवस्थामा पुगेपछि सूचना जारी गरेर विमानस्थलमा उडान गर्न आग्रह गरिने श्रेष्ठले जानकारी दिनुभयो।

प्राधिकरणका अनुसार यो विमानस्थल सञ्चालन गर्न पहिलोचरणमा तीन हजार मिटरको धावनमार्ग बनाउने काम भइसकेको छ। यो धानवमार्ग बनेपछि हालको १५ सय मिटरको धावनमार्ग ट्याक्सी वे हुने भएको छ। दोस्रो चरणमा आन्तरिक कार्गो भवन र तेस्रो चरणमा पार्किङ वेसहितका काम हुनेछ। विमानस्थल सञ्चालन गर्न सक्ने र यसको क्षमता बढाउँदै जान सकिने भएकाले अन्तर्राष्ट्रिय उडानको सुरुवात गराउन अहिलेसम्मको तयारी र विमानस्थल निर्माणको प्रगतिअनुसार कुनै समस्या नहुने पनि प्राधिकरणको भनाइ छ।

भैरहवा विमानस्थल कार्यालयका अनुसार तीन हजार मिटरकै धावनमार्ग निर्माण सकिएर अब कालोपत्रे मात्रै बाँकी छ। पाँचवटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न बनाइएको पार्किङ वे को ढलान हुँदै छ। प्रशासकीय भवन निर्माण सकिएको छ भने आठ तलाको कन्ट्रोल टावरमा पाँच तला निर्माण सकिएको छ। अब इलेक्ट्रिकल सवस्टेससँगै फिनसिङ मात्रै बाँकी छ। यो काम आगामी ६ महिनाभित्रै सकिने भएकाले पनि तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न सकिने उल्लेख छ। यो विमानस्थलको मुख्यसहित ६० प्रतिशत काम सकिएको छ। विमानस्थल निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्टलेले तोकिएकै समयमा जिम्मेवारी पूरा गरेर हस्तान्तरण गर्ने र असारबाट विमानस्थल सञ्चालनमा आउनेछ।

यो विमानस्थल निर्माणको लागत ३२ अर्ब रुपैयाँ नाघ्ने भएको छ। चिनियाँ कम्पनीलाई विमानस्थलको भौतिक संरचना बनाउन करिब साढे ६ अर्बमा ठेक्का दिइएको भए पनि विमानस्थलका लागि आवश्यक पाँच सय बिघा जग्गाको मुआब्जाका २३ अर्ब, प्रविधिक उपकरण राख्न एक अर्ब, कार्गो भवन बनाउन ८० करोडसहतिको काम गरी ३२ अर्ब नाघ्ने भएको छ।

प्राधिकरणका अनुसार जग्गाको मुआब्जाका लागि आवश्यक रकम सरकारले नै विनियोजन गरेको छ। जग्गा मुआब्जालाई लाग्ने २३ अर्बमध्ये ११ अर्ब निकासा भइसकेको र दुई अर्ब रुपैयाँ यो वर्षका लागि खर्च गर्न छुट्टयाइसकेको छ। बाँकी १३ अर्बको जोहो गर्न बाँकी छ। यो रकम सरकारी स्रोतबाट जोहो हुने प्राधिकरणको भनाइ छ।

विमानस्थल निर्माण गर्दै जादाँ र पूर्ण क्षमतामा सञ्चालन गर्न कम्तीमा १५ वटा पार्किङ वे हुनुपर्ने सर्त मन्त्रालयले दिएको छ। यसका कारण यो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म यसको लागत ३५ अर्ब नाघ्ने पनि प्राधिकरणको भनाइ छ। प्राधिकरणले हाल मुआब्जा वितरण गरेर अधिग्रहण गरिरहेको जग्गामा विमास्थलको भौतिक संरचना नबन्ने भए पनि अन्तर्राष्ट्रिय विमानस्थका निम्ति आवश्यक खाली जग्गा र दीर्घकालीन योजनाका लागि आवश्यक भएको छ। यो विमानस्थल निर्माणपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तयार हुनेछ।

काठमाडौं विमानस्थलमा अवतरण गर्ने जहाजलाई डाइभर्ट गर्न, सीधै भैरहवामा अवतरण गर्न, त्रिभुवन विमानस्थलको विकल्पका लागि र अन्तर्राष्ट्रिय उडानका जहाजको पहुँच बढाउन यो विमानस्थल प्रयोग हुनेछ।

जानकारी तथा लेखहरु