फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिचुवान प्रान्तको लेसानमा लुम्बिनीको माटो

(GMT+08:00) 2018-09-11 16:08:13

चीनको सिचुआन प्रान्तको लेसानमा बिहीबारदेखि जारी सिचुआन इन्टरनेसनल ट्राभल एक्स्पोमा बौद्ध धर्मद्वारा पर्यटन प्रवद्र्धन गर्न दुई मुलुकबीच समझदारी भएको छ। पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिअनुसार बौद्ध धर्मद्वारा पर्यटन प्रवद्र्धन गर्न चिनियाँ सहर लेसान तथा नेपालका लुम्बिनी, तानसेन र रामग्राम नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको कान्तिपुर अनलाइनले लेखेको छ। समारोहमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्षको समेत चर्चा गर्नु भएको थियो।

सिचुआन प्रान्तका गभर्नर, लेसान नगरपालिकाका मेयर र प्रख्यात डाडो जेन टेम्पल र लेसान बुद्ध टेम्पलका प्रमुखहरूसँग पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उच्चस्तरीय बैठकहरू भएका थिए। लेसान विश्वको सबैभन्दा ठूलो बुद्धको मूर्ति रहेको सहरका रूपमा चिनिन्छ। त्यहाँ हरेक वर्ष लाखौं पर्यटकले भ्रमण गर्छन्।

यसैबीच विशेष कार्यक्रममाझ बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटोलाई लेसानको बुद्ध संग्रहालयलाई हस्तान्तरण गरिएको बोर्डका अधिकृत सुदन सुवेदीले बताउनुभयो। उहाका अनुसार धार्मिक कार्यक्रमका साथ पवित्र माटोलाई लेसान संग्रहालयमा राखिने भएको छ, जुन त्यहाँ आउने पर्यटकका लागि ठूलो आकर्षण हुन गई नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, लुम्बिनी, तानसेन एवं रामग्राम नगरपालिकाका मेयरहरू, संघीय सांसद तथा प्रदेश सांसदका साथै नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायीको प्रतिनिधिमण्डललाई मन्त्री अधिकारीले नेतृत्व गर्नुभएको थियो।

लेसानमा नेपाल सप्ताहसमेत आयोजना भएको छ। जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उक्त सप्ताहको उद्घाटन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु