फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशैँ लक्षित सहुलियत पसल असोज दोस्रो सातादेखि

(GMT+08:00) 2018-09-11 16:08:37

नेपाल सरकारले दशैंलाई लक्षित गरेर गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि दशैं बजार सञ्चालन गर्ने तयारी गरिएको कारोकार अनलाइनले लेखेको छ।

नेपालीको महान चाडपर्वका रुपमा रहेका दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र दुग्ध विकास संस्थानमार्फत् सहुलियत पसल सञ्चालन गर्न लागेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो। "चाडपर्वमा वस्तु तथा सेवाको खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको छ," उहाँले भन्नुभयो, "यो वर्ष सहुलियत पसल अर्थपूर्ण र प्रभावकारी हुने गरि सञ्चालन गरिने छ।" सहुलियत पसलमा उपभोक्ताको गुनासो नआउने गरी बजारमा हुने कालाबजारी र कृत्रिम अभाव नियन्त्रण हुने गरी सुपथ पसल सञ्चालन गरिने उहाँको भनाइ छ।

कुन वस्तुमा कति छुट दिने र कति गतेदेखि सञ्चालन गर्ने भनेर मंगलबार बस्ने सरोकारवाला निकायको बैठकले निर्णय गर्ने छ। विभिन्न संस्थानमार्फत् उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको छ। साथै सहकारीमार्फत् समेत सुपथ पसल सञ्चालन गरिने छ। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि यो वर्ष सरकारले बजेटमै रकमको व्यवस्था गरेको छ। सहुलियत पसलमार्फत् चिनी, नुन, घिउ, चामल, गेडागुडीसँगै अन्य खाद्यान्नमा छुट दिइने छ।

खाद्य संस्थानले सिमी, फापर र बासमति चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिनका लागि प्रस्ताव गरेको छ। यस्तै जिरा, सोना, मकवानपुर चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने प्रस्ताव गरेको छ। यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र अन्य खाद्यान्नमा आवश्यकताअनुसार छुट दिनका लागि प्रस्ताव गरेको छ। चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिद बिक्री बढी भई निजी व्यवसायीले कालोबजारी गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ।

जानकारी तथा लेखहरु