फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायु सेवा निगमले चीनका ७ सहरमा उडान गर्न प्रकृया सुरु

(GMT+08:00) 2018-09-12 16:22:31

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनका ७ वटा सहरमा सीधा उडानको प्रक्रिया सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दिनु भएको जानकारी अनुसार चीनका ७ वटा सहरमा उडान गर्नका लागि प्रक्रिया सुरु भएको कारोबार अनलाइनले लेखेको छ।

नेपाल र चीनबीच सन् २००९ मा भएको हवाई सम्झौतामा नेपालले चीनका सात सहरमा उडान गर्न पाउने व्यवस्था छ। चीनले अनुमति दिएका सातवटै सहरमा आगामी २ वर्षभित्र निगमले उडान थाल्ने मन्त्री अधिकारीले जानकारी दिनुभयो। यी सात सहरमा क्वाङचौ, छङ्तु, शाङ्हाई, लुसान, ल्हासा, खुन्मिङ र बेइजिङ रहेका छन्। सबै गन्तव्यमा सकेसम्म छिटो उडानका लागि प्रक्रिया सुरु भएको मन्त्री अधिकारीले बताउनुभयो।

लुसान विमानस्थल यसै वर्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आउने भएकोले नेपालको पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सीधै भैरहवा–लुसान उडान थाल्ने अधिकारीले बताउनुभयो। "लुसान बुद्धिष्टहरूको ठूलो आस्थाको केन्द्र हो र लुम्बिनी बुद्धको जन्मथलो भएकाले उनीहरू सीधा उडान गर्न तयार छन्," मन्त्री अधिकारीले भन्नुभयो।

बेइजिङमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ११ महिनापछि सञ्चालनमा आउने भएकोले नेपाललाई चीनले पनि प्राथमिकतामा राखेको छ। "चीनबाट पर्यटक बढाउनको लागि पनि नेपालबाट सीधा उडान गराएर हवाई भाडा घटाउनुको विकल्प छैन," मन्त्री अधिकारीले भन्नुभयो।

निगमसँगै अन्य नेपालका एयरलाइन्सहरूलाई उडान अनुमति नदिएको विषयमा कुटनैतिक पहल भइरहेको र निकट भविष्यमै नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा सीधा उडान थाल्ने दावी मन्त्री अधिकारीको छ। निगमले दुई थान एयरवस ३३०–२०० सिरिजको वाइडबडी जहाज नेपाल ल्याइसकेकोले अब चीनसहित दक्षिण कोरिया, जापानलगायतका गन्तव्यमा उडानका लागि अन्तिम तयारी भइरहेको मन्त्री अधिकारीले बताउनुभयो।

निगमले चीनको व्यापारिक सहर क्वाङचौमा उडानका लागि अनुमतिको प्रयास गरेको तीन वर्षसम्म पनि चीनले स्वीकृति नदिएपछि नयाँ गन्तव्य थप्ने निगमको लक्ष्य अलपत्र परेको छ। चीनको झन्झटिलो प्रक्रिया साथै क्वाङ्चौको ब्यस्त विमानस्थलका कारण निगमलाई अनुमति लिन हम्मे परेको हो। "क्वाङचौले स्लट नभएको जवाफ दिए पनि कुटनीतिक पहल जारी छ," अधिकारीले भन्नुभयो।

निगमले दुबई र क्वाङ्चौ उडान एकैचोटी सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाए पनि दुवईमा उडान सुरुगरेको १ वर्ष बितिसक्दा पनि क्वाङचौबाट भने अनुमति पाएको छैन। निगमले नयाँ गत वर्षको जेठबाटै क्वाङचौ उडान गर्ने लक्ष्य राखेको थियो। न्यारोबडी खरिद गर्नेवित्तिकै क्वाङचौका लागि प्रक्रिया सुरु गरे पनि दुई वाइडबडी जहाज आइसक्दा पनि अनुमति पाएको छैन।

जानकारी तथा लेखहरु