फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रस्ताव

(GMT+08:00) 2018-09-12 16:23:13

होटल संघ नेपाल (हान) ले पोखरा महानगरलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न प्रस्ताव अगाडि सारेको छ। पोखरामा मंगलबार आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका मेयरलाई सँगै राखेर संघले पोखरालाई दक्षिण एसियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने भन्दै पर्यटकीय राजधानीको प्रस्ताव राखेको कान्तिपुर अनलाइनले लेखेको छ।

संघका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रूपमा अगाडि बढाउन सकिने बताउनुभयो। उहाँले यसका लागि संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव राख्नुभयो। प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाएर दसौं लाख पर्यटक भित्र्याउन सकिने उहाँले सुनाउनुभयो।

संघका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गर्नुभयो। पोखरालाई मास तथा माइस (एमआईसीई) टुरिजमको गन्तव्यका रूपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्नुपर्ने उहाँको धारणा छ। सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन पाण्डेले सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

यसअन्तर्गत सरकारी जग्गाहरू होटल तथा रिसोर्टहरू खोल्न भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करिब पाँच प्रतिशत ब्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने, पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने, सरकारले १० वर्षका लागि कर मिनाहा अर्थात् टयाक्स होलिडेको व्यवस्था गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयात कर छुट हुनुपर्ने र स्थानीय उपजमा भ्याट आधा कम हुनुपर्ने प्रस्ताव उहाँले अवधारणापत्रमा उल्लेख गर्नुभएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक भएको भन्दै प्रदेश सरकार अहिले नीति निर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जानकारी दिनुभयो। काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्गहरू निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हब हुने भनाइ उहाँले राख्नुभयो।

यसका लागि कम्तीमा लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने, डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने उपाय सुझाउनुभयो। मुस्ताङमा हाई अल्टिच्युड खेल केन्द्र खोल्ने विचार पनि प्रदेश सरकारको रहेको र लगानी सम्मेलनसमेत प्रदेश सरकारले गर्न लागेको जानकारी उहाँले गराउनुभयो।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहाससम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक 'सिग्नेचर ब्रिज' निर्माण गर्ने योजना सुनाउनुभयो। नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना भयो भने सरकारले विकास निर्माणमा खर्च गर्ने रकम प्राप्त गर्ने भनाइ उहाँको थियो। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पोखरालाई पर्यटकको ट्रान्जिटका रूपमा नभई हबका रूपमा विकास गर्नुपर्ने, फेवा तालको संरक्षण गर्नुपर्ने र भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव राख्नुभयो।

कार्यक्रमको अर्को आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चर्को ब्याज दरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमनसमेत बढ्न सक्ने भनाइ राख्नुभयो। नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशंकर पालिखेले सरकारी कर्मचारीका लागि पेड होलिडेको व्यवस्था गर्नुपर्ने बताउँदै मानव निर्मित पर्यटकीय गन्तव्यहरूको विकास पनि पोखरामा जरुरी भएको उल्लेख गर्नुभयो। पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै यसलाई अन्त्य गरिनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु