फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षपछि सबै पाइलट नेपाली

(GMT+08:00) 2018-09-14 16:56:56

नेपालमा नयाँ वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र पाइलट, इन्जिनियर लगायतका आफूलाई चाहिने जनशक्ति आफै तयार गर्नुपर्ने भएको छ।

'नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्थाहरु २०७५' मा प्राधिकरणले आफूलाई चाहिने जनशक्ति आफै उत्पादन गर्नुपर्ने उल्लेख गरेको नेपाल खबर अनलाइनले लेखेको छ। नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र आफूलाई चाहिने आवश्यक जनशक्ति नेपाली नागरिक नै हुने गरी तयार गर्नुपर्ने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।

त्यस्तै नीतिमा वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) प्रदान गर्ने प्रावधानमा समेत कडाइ गरिएको छ। नयाँ वायुसेवा कम्पनीलाई एओसी प्रदान गर्दा उक्त कम्पनीलाई आवश्यक पर्ने पाइलट तथा इन्जिनियर पर्याप्त रहे नरहेको जाँच गरिने र जाँचपछि मात्रै वायुसेवा सञ्चालन प्रमाण–पत्रको प्रक्रिया अगाडि बढाउने नीति ल्याएको पोखरेलले बताउनुभयो। नीतिमा कुनै नयाँ प्रकारको विमान थप गरेमा वायुसेवा कम्पनीले त्यो विमान थप गरेको मितिले पाँच वर्षभित्र नेपाली जानशक्ति तयार गरिसक्नुपर्ने उल्लेख छ।

'हवाइ सेवाको दिगो विकासका लागि स्वदेशमै पाइलट, इन्जिनियर तथा अन्य आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्राधिकरण सञ्चालक समितिले यो नीति स्वीकृति गरेको हो', उपमहानिर्देशक पोखरेलले भन्नुभयो, 'सबल र गुणस्तरीय हवाई सेवालाई प्रवद्र्धन गरी मुलुकको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो नीति ल्याइएको हो।'

नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमदेखि आन्तरिक उडानमा प्रतिस्पर्धी मानिने वायुसेवा कम्पनीहरुमा समेत विदेशी पाइलटहरु कार्यरत छन्। यो नीति आएसँगै विदेशी पाइलट, इन्जिनियरले नेपालमा काम गर्ने अवसर कम भएको छ। सुरुवाति समयमा नेपाल वायुसेवा निगमले टुइनटर उडान गर्दा भारतबाट धेरै पाइलट ल्याए पनि विदेशी पाइलटलाई विस्थापित गर्नका लागि २०३७/३८ मा निगमले क्यानडाको सहयोगमा २४ जना नेपाली विद्यार्थीलाई छात्रावृतिमा पाइलट पढाउन पठाएको थियो। विदेशी पाइलट विस्थापित गर्ने हेतुले पाइलट पढाउन पठाए पनि हालसम्म त्यो कार्यमा सफल हुन सकेको छैन। निगमले केही महिना अघि मात्र खरिद गरेको वाइडबडीमा अहिले पनि विदेशी पाइलट कार्यरत छन्।

त्यस्तैगरी एयर बस ३२० विमानबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा समेत विदेशी पाइलट धेरैजसो विदेशी पाइलट नै छन्। यस्तो अवस्थामा वायुसेवा कम्पनीले सेवा प्रदान गरेको ५ वर्षमा पूर्ण रुपमा नेपाली जनशक्ति राख्नुपर्ने नीति कत्तिको प्रभावकारी रुपमा लागू हुन्छ भन्ने आशंका उब्जिएको छ। किनभने अहिलेसम्म पनि वायुसेवा कम्पनीले नेपालमा पाइलटको कमी भएका कारण विदेशी पाइलट भित्र्याइरहेको अवस्था छ।

अहिले आएको पाँच वर्षे जनशक्ति उत्पादनको नीति नयाँ विमान कम्पनीहरुलाई मध्यनजर गरेर तयार गरिएको प्राधिकरणले जनाएको छ।

नेपालमा हाल १० वटा हवाई जहाज कम्पनी र १० वटा हेलिकोप्टर कम्पनी रहेका छन्। यी वायुसेवा कम्पनीमा ९० वटा वायुयान रहेको प्राधिकरणले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु