फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

३० वर्ष पुरानो 'अन्तिम बोइङ' मूल्यांकन गर्न स्वीस टोली काठमाडौंमा

(GMT+08:00) 2018-09-15 15:24:33

स्विट्जरल्यान्डबाट आएको विज्ञ टोलीले एक सातामै प्रतिवेदन दिने गरी नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको 'अन्तिम बोइङ' गण्डकीको धमाधम मूल्यांकन अध्ययन गरिरहेको छ।

अमेरिकी बोइङ कम्पनीबाट ३० वर्षअघि लिइएको निगमको विमान ७५७–२०० को मूल्यांकन गर्न स्विट्जरल्यान्डस्थित फिन्टेक कम्पनीको विज्ञ टोली नेपाल आएको सेतोपाटी अनलाइनले लेखेको छ।

विज्ञ टोलीले बुधबारदेखि बोइङको मूल्यांकन अध्ययन गरिरहेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउनुभयो। महाप्रबन्धक कंसाकारका अनुसार १९० सिट क्षमताको कलसाइन ९ एन–एसिबी भएको विमानको अन्तिम मूल्यांकन हप्ता दिनमा तयार हुनेछ।

स्विट्जरल्यान्डको विज्ञ टोली फर्केको एक महिनाभित्र निगमले बोइङको अन्तिम मूल्यांकन प्रतिवेदन पाउने छ। जसमा बोइङको इन्जिनको अवस्था र आयु कस्तो छ, यो बोइङ कतिमा बिक्री गर्न सकिन्छ भन्ने आधिकारिक जानकारी दिनेछ।

प्रतिवेदन तयार भएपछि निगमले ३० वर्ष पुरानो बोइङ ग्लोबल टेन्डर आह्वान गरी सन् २०१९ भित्र बिक्री गर्ने योजना बनाएको छ। 'बोइङ निकै पुरानो भएकाले मर्मत गर्दा धेरै खर्च हुन्छ, त्यसैले बेच्न लागेका हौं,' महाप्रबन्धक कंसाकारले भन्नुभयो।

हाल मूल्यांकनको क्रममा रहेको 'गण्डकी' नामको बोइङ निगमले ३० वर्ष पहिले, २०४५ सालमा किनेको थियो। जसमा आरबी २११–५३५ इ ४ मोडेलका दुई थान इन्जिन छन्। ३० वर्ष पुरानो बोइङ अहिले पनि सञ्चालनमा छ। र, यसले हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा, दुबई, दिल्ली, बैंगलोर र मुम्बईमा उडान गरिरहेको छ।

निगमसँग रहेको अन्तिम बोइङको मूल्यांकनका लागि तीनवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेका थिए। जसमध्ये सिंगापुरको फ्लाइट ग्लोबल, स्विट्जरल्यान्डको फिन्टेक र बेलायतको इन्टरनेसनल एभिएसन ग्रुप थिए।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार मूल्यांकनका लागि २१ दिनको म्याद राखेर वैशाख २६ गते सार्वजनिक प्रस्ताव आह्वान गरिएको थियो। कंसाकारका अनुसार इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङ (आइएसटिएटी) बाट मान्यताप्राप्त फर्म वा कम्पनीले मात्र प्रस्ताव पेस गर्न पाउने भएकाले धेरै कम्पनीको प्रस्ताव नआएको हो। प्रस्तावक मध्येबाट स्विट्जरल्यान्डको फिन्टेकलाई छनोट गरी निगमले नेपाल निम्त्याएको हो।

राष्ट्रिय ध्वजाबाहक निगमसँग रहेका दुईवटा बोइङमध्ये कलसाइन ९ एन–एसिए बोइङ ७५७ एक वर्षअघि, पुस २०७४ मा बिक्रि भैसकेको छ। ३० वर्ष नै पुरानो कर्णाली ९ एन–एसीए नाम गरेको त्यो विमान गैरआवासीय नेपाली संघ– एनआरएनएका अध्यक्ष भवन भट्टको बिबी एयरवेजले १४ लाख ६० हजार अमेरिकी डलर (करिब १४ करोड ७४ लाख रुपैयाँ) मा खरिद गरेको हो।

अझै पनि सञ्चालनमै रहेकाले गण्डकी बढी रकममा बिक्री हुने अपेक्षा निगमले राखेको छ। अमेरिकी बोइङ कम्पनीलाई पन्छाएर यूरोपको एयरबश युगमा प्रवेश गरेको निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा 'न्यारो बडी' एयरबस ३२०–२०० र दुई वटै 'बाइड बडी' एयरबश ३३०–२०० छन्। जसका लागि निगमले जापान, कोरिया लगायतका देशलाई नयाँ गन्तव्य बनाउन खोजिरहेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारले पटक पटक बोइङमा नफर्कने बताएपछि निगम अहिले 'अन्तिम बोइङ' पनि बिक्री गर्दै एयरबस थप्नेतर्फ उन्मुख भएको हो।

अन्ठाउन्न वर्षअघि, २०१७ मा स्थापना भएको नेपाल वायुसेवा निगमले २०२९ सालबाट उडान थालेको थियो। बोइङ ७२७ विमान सञ्चालनमा ल्याएको १५ वर्षपछि निगमले बोइङ ७५४ खरिद गरेको थियो।

जानकारी तथा लेखहरु