फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत–बंगलादेश त्रिदेशीय प्रसारण लाइनको योजना

(GMT+08:00) 2018-09-16 15:02:14

सन् २०४१ भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने घोषणासँगै यसका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गरिने भएको छ। बंगलादेश सरकारले आफ्नो योजनामै नेपालबाट बिजुली किन्ने उल्लेख गरेपछि सिधै जोडिने गरी सरकारले नेपाल–भारत–बंगलादेश जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको कारोबार अनलाइनले लेखेको छ। झापाको अनारमणिदेखि सिलगुढी हुँदै बंगलादेशसम्म त्रिदेशीय प्रसारण बनाउने योजना सरकारको छ। यसको सम्भाव्यता अध्ययन हुन बाँकी छ। करिब २२ किलोमिटर भूमि भारतको पर्ने भएकोले तीन देशबीचमा सहकार्य गरेर बनाउने योजना नेपालको छ।

नेपालबाट ९ हजार मेगावाट बंगलादेश बेच्नका लागि झापादेखि बंगलादेशसम्म ४०० केभीको प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो। "नेपालदेखि बंगलादेशसम्म सीधै प्रसारण लाइन निर्माणका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गर्न लागेका छौं," उहाँले भन्नुभयो, "भारतसँग नेपाल र बंगलादेश दुवैले कुरा गरेर तीनवटै देशले बनाउने गरी प्रसारण लाइन निर्माणको काम अघि बढाउन लागेका छौं।"

११ सय १० मेगावाटको सुनकोसी दोस्रो तथा ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने तथा दूधकोसी र अपर अरुणको बिजुली बंगलादेशलाई बेच्नेबारे समेत छलफल अघि बढेको मन्त्री पुनले जानकारी दिनुभयो।

बंगलादेश बिजुली बेच्नका लागि आवश्यक प्रसारण लाइनको निर्माण हाल प्रारम्भिक चरणमा रहेको विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ८० किलोमिटर लामो ४०० केभीको न्यू इनरुवा–अनारमणि प्रसारणलाइनको हाल सम्भाव्यता अध्ययन भइरहेको छ भने हेटौडादेखि इनरुवासम्मको प्रसारण लाइनको पनि निर्माण कार्य अघि बढेको छ। अरुण नदीबाट इनरुवासम्म पुग्ने ४०० केभीको १ सय ३० किलोमिटर लामो अरुण–इनरुवा प्रसारण लाइन पनि अध्ययनकै चरणमा छ। त्यसैगरी तिंला–दुधकोसी–ढल्केबर ४ सय केभीको १ सय २५ किलोमिटर प्रसारण लाइन पनि अध्ययनको क्रममा छ। सुनकोसी दोस्रो र तेस्रो आयोजनाबाट उत्पादित विद्युत् खिम्तीमा जोडेर खिम्तीबाट ढल्केबर पु-याउन सकिने प्राधिकरणले जनाएको छ। प्राधिकारणका अनुसार, बंगलादेश लैजानका लागि प्रस्तावित गरिएका आयोजनाहरूबाट बिजुली पु-याउनका लागि आवश्यक अन्तरदेशीय प्रसारण लाइन हाल प्रारम्भिक चरणमा छन्।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बंगलादेश पुग्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको काम अघि बढेको बताउँछन्। "बंगलादेशले बिजुली किन्ने भनेपछि त्यो विक्री गर्नका लागि बनाउनुपर्ने प्रसारण लाइन आयोजनाहरूको अध्ययन अघि बढ्छ," उहाँ भन्नुहुन्छ। प्राधिकरणका अनुसार अति दु्रत गतिमा बनेमा बंगलादेशका लागि झापासम्म ४ सय केभीको प्रसारणलाइन निर्माण पु-याउनका लागि कम्तीमा ३ देखि चार वर्ष लाग्छ भने भारतीय भूमि प्रयोग गर्न दिएमा नेपालले बंगलादेशलाई सँधै बिजुली बेच्न सक्छ। हाल भारतीय कम्पनी जीएमआरले ५ सय मेगावाट विद्युत् बंगलादेश बेच्ने गरी बंगलादेशसँग सम्झौता भएपनि त्यो बिजुली भने भारत हुँदै बेच्न लागिएको हो। भारतीय सरकारी कम्पनीलाई जीएमआरले बिक्री गरेर त्यहाँमार्फत त्यो बिजुली बंगलादेश पुग्नेछ। जीएमआरजस्तै कुनै भारतीय कम्पनीसँग सम्झौता गरेर बेच्नका लागि भने दुई देशबीच ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन बनिसकेको छ भने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ।

जानकारी तथा लेखहरु