फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवामा पहिरोमा परी दुईजनाको मृत्यु

(GMT+08:00) 2018-09-16 15:02:38

नेपाल र चीनको मुख्य व्यापारिक नाका केरुङ रहेको रसुवा जिल्लामा पहिरो जाँदा दुई कामदारको मृत्यु भएको छ। पहिरोमा परी एक चिनियाँ नागरिकसहित नौ जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारीअनुसार हिजो राति पौने १० बजे खसेको सुक्खा पहिरोमा परी निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत दुई कामदारको मृत्यु भएको हो।

हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरोमा परी मकवानपुरका हेटौंडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कुप्रोला र रुकुम भूमे गाउँपालिका-९ का ५० वर्षीय भीम रोक्काको मृत्यु भएको हो।

यसैगरी घटनामा घाइते भएका नौ जनामध्ये चिनियाँ नागरिक एमआर. वाइओ पिएचसी, रुकुम भूमे–२ का टेकमान बुढा, सोही ठाउँका जगदीश रोक्का र रुकुमकै कृष्णपुर नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

थप उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको छ। चिनियाँ नागरिक, टेकमान र जगदीशको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने प्रकाशलाई काठमाडौं ल्याइँदै छ।

अन्य घाइतेको अवस्था सामान्य रहेको रसुवा प्रहरीले जनाएको छ।

जानकारी तथा लेखहरु