फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास

(GMT+08:00) 2018-09-17 14:28:06

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा आजदेखि शुरू भै १२ गतेसम्म चल्नेछ। अभ्यासमा महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली सहभागी रहेको अन्नपूर्ण पोस्टले लेखेको छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले तालिममा सहभागी हुन आवश्यक तयारी पूरा भएको बताउनुभयो। बिम्स्टेक राष्ट्र्को संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोकेका थिए। बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यास भदौ २५–३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा भएको थियो। प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनमा सैन्य अभ्यासले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिएका थिए।

नेपाली–चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली देशले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। सेनाले भारतीय सेनासँग पनि बर्सेनि संयुक्त सैन्य अभ्यास 'एक्सरसाइज सूर्यकिरण' गर्दै आएको छ। चिनियाँ जनमुक्ति सेनासँग सेनाको संयुक्त सैन्य अभ्यास 'सगरमाथा फ्रेन्डसिप'को यो दोस्रो संस्करण हो।

जानकारी तथा लेखहरु