फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राजदूत र नेपालका उर्जा तथा सिंचाईमन्त्रीबीच काठमाडौंमा भेटवार्ता

(GMT+08:00) 2018-09-20 13:32:54

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। चिनियाँ राजदूत यु होङसित बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा ऊर्जा मन्त्री पुनले काठमाडौंमा हालै सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रबीच सीमापार प्रसारण (ग्रीड कनेक्सन) सम्बन्धी सम्झौता भएकाले ऊर्जाको बजार विस्तारमा टेवा पुगेको उल्लेख गर्दै चीनलाई लगानीका लागि आग्रह गर्नुभयो।

बंगलादेशसँग भएको सम्झौताले समेत ऊर्जाको क्षेत्रीय बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै ऊर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुली आयात–निर्यातमा कुनै समस्या उत्पन्न नहुनेमा चिनियाँ राजदूतलाई विश्वस्त तुल्याउनुभयो। भेटमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी अक्टोवरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो।

अन्नपूर्ण पोस्टका अनुसार नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रको बैठक आगामी असोज ११ र १२ गते काठमाडौंमा बस्दैछ। चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ।

भेटमा चिनियाँ राजदूत होङले ऊर्जामन्त्री पुनको पहलमा पहिलोपटक संयन्त्रको बैठक काठमाडौंमा बस्न लागेको उल्लेख गर्दै त्यसका लागि धन्यवाद दिनुभयो। संयन्त्र बनेपछि दुवै देशको ऊर्जा क्षेत्रलाई फाइदा पुग्ने उहाँको ठहर छ। राजदूत होङले संयन्त्रको बैठकमा नेपालले ऊर्जा क्षेत्रको विकासका लागि अवलम्बन गरेको नीति सार्वजनिक गरे चिनियाँ लगानीकर्तालाई सजिलो हुने सुझाउनुभयो।

जानकारी तथा लेखहरु