फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वप्रधानमन्त्री प्रचण्ड र चीनका उपराष्ट्राध्यक्ष वाङ छिशानबीच नानचिङमा भेटवार्ता

(GMT+08:00) 2018-09-20 13:56:38

चीन भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनका उपराष्ट्राध्यक्ष वाङ छिशानसँग भेटघाट गर्नुभएको छ। भेटमा प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताउनुभयो। मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेर मात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको बताउनुभयो।

उहाँले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको दोहोर्याउनुभयो।

भेटमा उपराष्ट्राध्यक्ष वाङ छिशानले अध्यक्ष प्रचण्डसँगको विगतका भेट स्मरण गर्दै भन्नुभयो, 'तपाईंलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ। तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ।'

उपराष्ट्राध्यक्ष वाङले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु