गत वर्षको सम्मेलनमा नेपालमा लगानी गर्ने इच्छा देखाएका व्यवसायीलाई लगानी गराउन नसकेको सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले आगामी फागुन, चैत (सन् २०१९ को मार्च) तिर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । बोर्डका प्रवक्ता समेत रहेका सहसचिव उत्तमभक्त वाग्लेले यस वर्ष पनि लगानी सम्मेलन गर्ने तयारी गरिएको बताउनुभयो।
बोर्डले यस वर्ष सम्मेलन गर्न एक समिति बनाउने तयारी गरेको नागरिकन्यूज डटकमले जनाएको छ। नयाँ सम्मेलन गर्ने प्रारम्भिक निर्णय भए पनि यस विषयमा थप छलफल हुन बाँकी रहेको वाग्लेले बताउनुभयो।
गत वर्षको सम्मेलनमा विदेशी लगानीकर्ताले नेपालमा अर्बौं रुपैयाँ लगानी गर्ने इच्छा देखाएका थिए। तर अहिलेसम्म कुनै पनि लगानीकर्ता आएका छैनन्। अघिल्लो सम्मेलनमा सहभागीबाट झन्डै १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) लगानी गर्ने इच्छा व्यक्त भए पनि लगानी आइनसकेको वाग्लेले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म सोधखोज गर्नेबाहेक कुनै प्रक्रिया अघि बढेको छैन। २०७४ को फागुन १९ र २० गते काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न देशका सहभागीबाट १४ खर्ब रुपैयाँ लगानी गर्ने इच्छा व्यक्त भएको थियो । २५ वर्षपछि आयोजित उक्त सम्मेलनमा दुई दर्जन मुलुकका झन्डै दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो। सम्मेलनमा सबैभन्दा धेरै चिनियाँले आठ अर्ब ३० करोड अमेरिकी डलर लगानी गर्ने इच्छा देखाएका थिए।