फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी नाकाबाट लक्ष्यभन्दा एक अर्ब बढी राजस्व संकलन

(GMT+08:00) 2018-09-24 15:41:42

रसुवागढी नाकाबाट एक वर्षको अवधिमा लक्ष्यभन्दा एक अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा रसुवागढी भन्सार कार्यालयले लक्ष्यभन्दा एक सय २७ प्रतिशत बढी राजस्व संकलन गरेको हो। त्रिदेशीय मार्गका रूपमा रहेको रक्सौल–वीरगन्ज–गल्छी–त्रिशूली–रसुवागढी मार्ग सञ्चालनसँगै नेपालको राजस्व संकलनमा बढोत्तरी आएको अन्नपूर्णपोस्टले लेखेको छ।

रसुवागढी नाका काठमाडौंदेखि छोटो दूरीमा रहेको अन्तर्राष्ट्रिय नाका हो। रसुवागढी नाकाबाट बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ। सामान आयातमा वृद्धि भएसँगै रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व संकलनमा पनि व्यापक वृद्धि भएको भन्सार प्रमुख गोपाल कोइरालाले जानकारी दिए।

रसुवागढी भन्सारले गत आव २०७४/०७५ मा तीन अर्ब ६३ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा एक सय २७ प्रतिशत बढी अर्थात् चार अर्ब ५९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको उनले बताए। कोइरालाका अनुसार रसुवा भन्सारले गत आवको असार महिनामा सबैभन्दा बढी ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सारले असारमा ३६ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । आव २०७३/०७४ मा रसुवा भन्सार कार्यालयले दुई अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको थियो।

गत आवमा रसुवा भन्सार कार्यालयले अघिल्लो आवभन्दा दुई अर्ब १७ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले गत आवमा कुल चार अर्ब ५९ करोड २३ लाख ७८ हजार नौ सय ८० रुपैयाँ राजस्व संकलन गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख कोइरालाले बताए।

भैरहवा र पोखरा विमानस्थल निर्माणका लागि सामान पनि रसुवागढी नाका हुँदै आएका कारण राजस्व असुलीमा वृद्धि भएको भन्सारले जनाएको छ। रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो। रसुवागढी नाकामा भन्सार कार्यालयको स्थापना २०१३ सालमा भएको हो।

नेपालको उत्तरी चीन जोड्ने रसुवागढी नाका पुरानो भए पनि २०७१ साल मंसिर १५ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो। २०७२ वैशाख १२ गतेको भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ सालको मंसिरदेखि यहीँ नाकाबाट हुँदै आएको छ। रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ।

रसुवागढी नाकाबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ। त्यसैगरी नेपालबाट बाँसका मुढा, हस्तकलाका सामान, काठका टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख कोइरालाका अनुसार भन्सारमा एउटा मालबाहक कन्टेनरले भन्सार राजस्व सरदर ३२ हजार रुपैयाँ रसुवागढी भन्सारलाई तिर्छन्। रसुवागढी नाका खुलेपछि कन्टेनरको आगमन तीव्र भएको उनको भनाइ छ। दैनिक ४० थान कन्टेनर सामान लिन केरुङ गइरहेको र ५० थान कन्टेनर रसुवागढी हुँदै नेपाल भित्रिने गरेका छन्।

जानकारी तथा लेखहरु