फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्द्रजात्रा पर्व मनाइँदै

(GMT+08:00) 2018-09-24 15:56:23

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डु, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डुको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ। तीन वर्षपछि यसपटक गद्दी बैठकमै इन्द्रजात्राको तयारी गरिएको गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले बताएका छन्।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन 'इन्द्रध्वज पातन' गर्ने अर्थात् लडाउने चलन छ।

यस वर्ष आइतबार र सोमबार दुवै दिन सूर्योदयकालमा चतुर्दशी तिथि भए पनि पूर्णिमा तिथि भने मङ्गलबार बिहानको सूर्योदयकालमा भएकाले सोमबार इन्द्रजात्रा मनाउने निर्णय गरिएको राससले जनाएको छ।

जानकारी तथा लेखहरु