फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशैँमा घर जान टिकट लिनेको घुइँचो

(GMT+08:00) 2018-09-25 19:46:46
नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ। दशैँका लागि आज असोज ९ गते मङ्गलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आज मङ्गलबारदेखि टिकट बुकिङ खुला गरेको बताए। साथै आजैबाट डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको छ।

टिकट वितरणसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा पनि बढाइएको छ। नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो।

गोरखापत्रअनलाईनका अनुसार, स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए।

जानकारी तथा लेखहरु