फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामूहिक खेतीबाट पर्यटन प्रबर्द्धन गर्दै सरकार

(GMT+08:00) 2018-09-25 19:47:07
सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ। आर्थिक विकास र सरकारले लिएको 'समृद्ध नेपाल र सुखी नेपाली'को सङ्कल्प पूरा गर्न पनि कृषि र पर्यटनलाई परिपूरकको रुपमा अगाडि बढाउन ती परियोजना अगाडि बढाइएको राससले जनाएको छ।

सामूहिक कृषि खेती प्रणालीमार्फत पर्यटन प्रर्बद्धनको लागि सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुखुम्बुको पातले, उदयपुरको रौतामाई र नुवाकोटको ककनी गरी पाँच स्थान छनौट गरिएको छ।

ती पाँच स्थानका ७५ घरधुरीको सहभागितामा सामूहिक कृषि, पर्यटन, 'अर्गानिक भिलेज' स्थापनाको कार्य अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जानकारी दिएका छन्। ती स्थानमा घरबास पर्यटनलाई समेत जोड्ने तयारीमा सरकार रहेको छ।

व्यवस्थित कृषिबाट खाद्यान्नको आपूर्ति पनि हुने र पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्ने भएकाले रणनीतिक रुपमा नमूना परियोजनाका रुपमा कार्यक्रम अगाडि बढाइएको हो। स्थानीय कृषकलाई सामूहिक रुपमा परिचालन गर्ने, उनीहरुलाई स्थानीय कृषि कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग समेत उपलब्ध गराइनेछ।

जमिनको खण्डीकरण रोक्न समेत सामूहिक खेती प्रणालीले सहयोग गर्ने र पर्यटन समेत प्रबर्द्धन हुनेछ। नमूना परियोजनाबाट आन्तरिक तथा बाह्य पर्यटकको समेत आर्कषण बढ्ने र थप आर्थिक विकासमा समेत सहयोग पुग्ने मन्त्री खनालको भनाइ छ।

यस्तै मन्त्रालयले इजरायल सरकारसँग इजरायली कृषि क्षेत्रको उच्चस्तरीय प्रविधिमार्फत नेपालका सातवटै प्रदेशमा आधुनिक नमूना फार्म स्थापनाको लागि परियोजना अवधारणापत्र तयार भएको छ।

त्यसैगरी चीन, कतार, नेदरल्याण्ड र ब्राजिल सरकारसँग समेत नेपालको कृषि क्षेत्रको विकासमा प्राविधिक सहायताका लागि द्विपक्षीय छलफलको प्रक्रिया सुरु गरिएको मन्त्री खनालको भनाइ छ।

जानकारी तथा लेखहरु