फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ओलीले असोज ११ महासभालाई सम्बोधन गर्नुहुने

(GMT+08:00) 2018-09-26 18:30:06
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ गते अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहनुभएको बताउनुभएको छ।

अधिवेशनको मूल विषय 'संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने' रहेको छ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्यूयोर्क आइपुग्नुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मङ्गलबार राष्ट्र सङ्घको मुख्यालयमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गर्नुभएको थियो।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो।

मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनको छलफल आरम्भ भएको छ।

साथै प्रमुख सल्लाहकार रिमालले न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानाडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसक्नुभएको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको र अन्य केही नेताले उहाँसँग भेट गर्न चाहेको जानकारी दिनुभएको गोरखापत्रअनलाईनले लेखेको छ। प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको र नयाँ कार्यक्रमका लागि समय मिलाउने काम भइरहेको पनि बताइएको छ।

जानकारी तथा लेखहरु