फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

(GMT+08:00) 2018-09-26 18:30:26
नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना हुने भएको छ।

गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उहाँका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो।

ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको गोरखापत्रनलाईनले लेखेको छ। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नेछ भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहनेछ।

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमा समेत ऊर्जा संयन्त्रको बैठकमा छलफल हुने कार्यक्रम छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले विगतमा भएका सहमति तथा सहकार्य तथा आगामी दिनमा हुनसक्ने लगानीका विविध पक्षमा द्विपक्षीय संयन्त्रको बैठकमा छलफल हुने जानकारी दिनुभयो।

द्विपक्षीय ऊर्जा संयन्त्रको बैठकमा नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानीका विषयमा महत्वपूर्ण छलफल हुने र त्यसले दुवै देशको ऊर्जा क्षेत्रलाई फाइदा पुग्ने भएकाले त्यसले सम्भावनाको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

जानकारी तथा लेखहरु