फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जामा सहकार्य गर्न नेपाल–चीन सहमत

(GMT+08:00) 2018-09-29 19:45:59
ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न नेपाल र चीनका जलस्रोत अधिकारी सहमत भएका छन्। दुवै देशका उच्च अधिकारीबीच शुक्रबार भएको संयुक्त बैठकमा ऊर्जा क्षेत्रको विकासका लागि चीनले आफ्ना तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताएको नागरिकन्यूजले लेखेको छ। पहिले योजना बनाउने र त्यसपछि कार्यान्वयनमा जाने सहमति भएको र पहिलो चरणमा ६ वटाजति आयोजना छनोट गर्ने र त्यसमध्ये उपयुक्त ठहरिएका दुईटामा लगानी गर्ने इच्छा देखाएको र आयोजना निर्माणका लागि लाग्ने रकमको जोही पनि चिनियाँ पक्षले नै गर्ने सहमति भएको महानिर्देशक सिंहले बताए।

बैठकमा ऊर्जाक्षेत्रमा दुवै देशले हासिल गरेको प्रगति, ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीको सम्भावना, ऊर्जाको खपत, बजारको अवस्था, आगामी दिनका योजनालगायतका विषयमा छलफल भएको थियो।

अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना र लगानीका सम्बन्धमा समेत छलफल भएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। बैठकमा चीनका नौ र नेपालका सात अधिकारी सहभागी थिए। बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय र चिनियाँ टोलीको नेतृत्व नेसनल इनर्जी एडमिनिस्ट्रेसन, इन्टरनेसनल कर्पोरेसन डिपार्टमेन्टका उपमहानिर्देशक हे याङले गरेका थिए। लगानीका विविध पक्षबारे छलफल गरी सहकार्यका साथ अघि बढ्ने सहमति भएको बैठकमा सहभागी सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।

नेपाल र चीनका उच्च अधिकारी सम्मिलित संयन्त्रको यो पहिलो बैठक हो।

जानकारी तथा लेखहरु