फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक महिनामा ७३ अर्ब रेमिटेन्स

(GMT+08:00) 2018-09-30 18:42:31
चालु आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारमा गएका कामदारले ७३ अर्ब ७५ करोड रुपैयाँ रेमिटेन्स नेपाल पठाएका छन्। चालू आव वैदेशिक रोजगारबाट भित्रिएको रेमिटेन्स गएको आवको साउनभन्दा ३३ प्रतिशतभन्दा बढी हो। गत वर्ष सोही महिना ५५ अर्ब ५५ करोड रेमिटेन्स भित्रिएको अन्नपूर्णपोस्टले लेखेको छ।

यस वर्ष रेमिटेन्स बढ्नुको प्रमुख कारण डलरको मूल्य वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। उनका अनुसार, कामदार बढेका कारण रेमिटेन्स बढेको नभइ डलरको मूल्य बढेबाट रेमिटेन्स बढेको हो। गत वर्षको साउनमा ३१ हजार तीन सय नौ कामदार रोजगारीका लागि विदेश गएका थिए। तर, यस वर्षको साउनमा त्यो करिब साढे १० हजारले घटेर २० हजार आठ सय २४ मा सीमित भएको छ।

गएको आवमा जम्मा सात खर्ब ५५ अर्ब रेमिटेन्स भित्रिएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा रेमिटेन्स उल्लेख्य रूपमा बढेको उल्लेख छ।

यसैगरी राष्ट्र बैंकले साउनमा ४.२ प्रतिशत मूल्य वृद्धि रहेको देखाएको छ। गएको आवमा यस्तो मूल्य वृद्धि दुई दशमलव तीन प्रतिशत थियो। यस आवको साउनमा गैरखाद्य वस्तु तथा सेवा समूहको मूल्य वृद्धि पाँच दशमलव दुई प्रतिशत छ। गएको आवमा वृद्धिदर चार दशमलव नौ प्रतिशत थियो।

मूल्य वृद्धिको अवस्थालाई क्षेत्रगत रूपमा हेर्दा पहाडमा सबैभन्दा बढी र हिमालमा सबैभन्दा कम मूल्य वृद्धि देखिएको छ। साउनमा पहाडमा ५.३, तराईमा ४.१, काठमाडौंमा उपत्यकामा ३.५ र हिमालमा २.७ प्रतिशतले मूल्य वृद्धि भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।तीनै तहमा सरकार गठन भइ बजेट समेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि सकारात्मक हुँदै गएको राष्ट्र बैंकले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु