फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पनि २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

(GMT+08:00) 2018-10-01 14:28:41

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताउनुभएको छ।

ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्नुभएको छ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन्।

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक प्रगति, खाद्यान्नको पर्याप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढिरहेको छ। ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तक्रिया बढ्ने उल्लेख गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु