फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपालको सुखदुःखको साथी भएको परराष्ट्रमन्त्रीको भनाइ, राजधानीमा नेपाल-चीन मेला शुरु

(GMT+08:00) 2018-10-06 15:14:14

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन नेपालको दुःखसुखको साथी भएको बताउनुभएको छ। चाइना-नेपाल कल्चर सेन्टर तथा अरनिको समाजले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको 'नेपाल चीन मेला २०१८' को उद्घाटनका क्रममा उहाँले नेपाल र चीन युगौंदेखिको विश्वासनीय, भरोसायुक्त साथी भएकाले दुई मुलुकबीच समस्यारहित सम्बन्ध रहिआएको पनि बताउनुभयो।

दुई फरक भूगोल, जनसंख्या तथा संस्कृतिका बाबजुद पनि नेपाल र चीनको १८ सय वर्ष पुरानो सम्बन्धलाई 'नमूना' का रूपमा लिन सकिने उहाँको ठम्याइ छ। भृकुटी, अरनिको जस्ता विभूतिले सम्बन्धलाई अझै उचाइमा पुर्‍याएको बताउँदै उहाँले भन्नुभयो, 'बेइजिङमा भएको प्यागोडाले नेपाल–चीनको सम्बन्धलाई जीवन्त बनाइरहेको छ।'

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको दूरदर्शी अवधारणा 'बेल्ट एन्ड रोड' को नेपाल साझेदार रहेकाले यसै अवधारणा अनुसार अगाडि बढ्ने उहाँले बताउनुभएको अन्नपूर्ण पोस्ट अनलाइनले लेखेको छ। मन्त्री ज्ञवालीले रेलवे, सडक, बन्दरगाह, उडययन, अप्टिकल फाइवर, क्रसबोर्डर ट्रान्समिसनलगायत सम्भावित क्षेत्रलाई पहिचान गर्दै विभिन्न माध्यमबाट समृद्ध चीनसँग जोडिँदै जाने विचार पनि व्यक्त गर्नुभयो। समग्रमा नेपालको र ललितपुरको सम्पदा पहिचानका रूपमा रहेको हस्तकला, वास्तुकला, सिल्क उद्योगहरूका लागि बजार प्रवर्द्धनका लागि यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने र चीनका विशाल उपलब्धिलाई नेपालीमाझ चिनाउन पुलको काम गर्ने उहाँको भनाइ छ।

पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला शुक्रबारदेखि शुरु भएको हो। नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजका अध्यक्ष अजरमान जोशीले बताउनुभयो।

पाँच दिनसम्म चल्ने मेलामा १०० कक्ष रहेका छन्। मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने आयोजकले जनाएको छ। मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ।

कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ। नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकलालगायत विभिन्न घरायसी सामग्रीको कक्ष रहको छ। चिनियाँ कला र संस्कृति झल्कने ६० वटा चिनियाँ कक्षसमेत रहेका छन्।

नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले नेपालले मेलाबाट पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने औँल्याउनुभयो। मेलाको आयोजनाले दुई देशका जनताले लाभ लिन सक्ने समाजका महासचिव सुरेशमान महर्जनले बताउनुभयो। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले स्थानीय तहले मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु