फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन महिनामा ८ अर्बका सवारीसाधन भित्रिए

(GMT+08:00) 2018-10-12 17:05:15

दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख रुपैयाँ बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्।

चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ। नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ।

भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगन्ज भन्सार कार्यालयलाई कूल राजस्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठेको भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिएको राससले जनाएको छ।

मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको संख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए।

सरकारले चालू आवदेखि खरीद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ।

आव २०७४-७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ६ अर्ब ८६ करोड १२ लाख रुपैयाँको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो।

दसैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगन्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो। संघीय सरकारले वीरगन्ज भन्सार कार्यालयलाई आव २०७५/७६ मा १७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ।

जानकारी तथा लेखहरु