फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवामा लक्ष्यको तुलनामा ४ सय प्रतिशत राजस्व

(GMT+08:00) 2018-10-23 16:38:12

रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको र यो लक्ष्यको तुलनामा तीन सय ८७.२२ प्रतिशत बढी भएको नागरिकन्यूजले लेखेको छ। कार्यालयका अनुसार असोजमा ६० करोड नौ लाख ३८ हजार राजस्व उठाउने लक्ष्य थियो।

चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन। साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१.६१ प्रतिशत राजस्व संकलन गरेको थियो। साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड चार लाख ७७ हजार उठेको थियो। भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब दुई करोड ४३ लाख ७६ हजार लक्ष्य थियो। लक्ष्यभन्दा एक सय ४२.२२ प्रतिशत राजस्व उठिसकेको भन्सार अधिकृत तथा सूचना अधिकारी धर्मराज सुवेदीले बताए। तीन महिनामा दुई अर्ब ८७ करोड ९० लाख ३२ हजार असुली गरिसकेको उनले बताए। कार्यालयले वार्षिक लक्ष्यको ४० प्रतिशत राजस्व असुली गरिसकेको छ।

कार्यालयलाई यो वर्ष सात अर्ब १५ करोड ६२ लाख ५५ हजार राजस्व असुल्ने लक्ष्य दिइएको छ। वर्षाको समयमा बाढी–पहिरोले एक महिनासम्म सडक अवरुद्ध गर्दा घाटा बेहोरेको कार्यालय सन्तुलनमा आइसकेको छ। तिहार तथा जाडो मौसमका लागि आवश्यक पर्ने सामग्री चीनबाट आयात भइरहेको सूचना अधिकारी सुवेदीले बताए। नेपालतर्फको सडक जीर्ण भएका कारण हल्का तथा नफुट्ने सामग्री आयात भइरहेको छ। जाडो मौसम सुरु भएकाले जाडो मौसमका लागि कपडाको आयात पनि बढेको छ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी मात्रै सञ्चालनमा रहेकाले यहाँ व्यापारिक कारोबार बढेको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका वस्तु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

जानकारी तथा लेखहरु