फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैंमा आधा अर्बका खसी–बोका बिक्री

(GMT+08:00) 2018-10-23 19:01:36

विगत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा खसी–बोका, भेडाच्यांग्रा कम बिक्री भएका छन्। दसैंभरिमा करिब आधा अर्ब रुपैयाँका खसी–बोका, च्यांग्राको कारोबार भएको नागरिकदैनिकले लेखेको छ।

दसैंलाई लक्ष्य गरेर व्यापारीले करिब ५० हजार खसी–बोका, भेडाच्यांग्रा खरिद गरेर ल्याए पनि करिब ३५ हजारमात्र बिक्री भएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ। राजधानीबाट गृह जिल्ला जानेको संख्या बढेकाले खसी–बोका खपत कम भएको संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए। साथै भारतबाट ल्याएका खसी–बोकाको तुलनामा स्थानीय धेरै बिक्री भएको पाठकले बताए।

व्यवसायीसहित नेपाल खाद्य संस्थानले पनि च्यांग्रा र खसी–बोका ल्याएर बिक्री गरेको थियो। ३५ हजार खसी–बोका प्रतिगोटा करिब १४ हजार रुपैयाँका दरले ४९ करोड रुपैयाँ हुन्छ। त्यसका अतिरिक्त नेपाल खाद्य संस्थानले करिब एक हजार च्यांग्रा र खसी बिक्री गरेको थियो।

दसैंलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसी–बोका ल्याएका थिए। उपत्यकामा दसैंमा खपत हुने खसी–बोका, भेडा–च्यांग्रामध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादन हुन्छ। बजारको मागअनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय निर्भरता छ।

पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडा–च्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ । दसैं–तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुन्छ। स्वदेशी उत्पादनले १५–२० प्रतिशतमात्र थेग्ने संघले जनाएको छ। चाडपर्वमा सहरी क्षेत्रमा खसी–बोका, भेडा–च्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासु खपत उच्च हुन्छ। व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याएका थिए।

जानकारी तथा लेखहरु