फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अढाई अर्ब सैन्य सहयोग

(GMT+08:00) 2018-10-24 16:24:17

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशत बढाएको छ। उसले दुई अर्ब ५३ करोड रूपैयाँ (एक सय ५० मिलियन आरएमबी) बराबरको सैन्य सहायता गर्ने भएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताएको अन्नपूर्ण पोस्टले लेखेको छ।

रक्षा सचिव विष्णु लम्सालका अनुसार, चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्‍याएको छ। चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिका लागि सिधा रकम नभइ आवश्यक सामाग्री हुन्। बख्तरबन्द गाडी, सैन्य सामाग्री, ट्रक, क्रेनलगायत रहने रक्षा अधिकारीले जानकारी दिए।

पैचिङ स्याङसान फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका थिए। उनी एक उपरथी र एक उपसचिवसहित चीन गएका हुन्। चिनियाँ समकक्षी वाइ फङ्गको निमन्त्रणामा उनको चीन भ्रमण तय भएको हो।

रक्षामन्त्रीको भ्रमणको क्रममा नेपाली सेना र चिनियाँ सेनाबीच हुँदै आएको दुईपक्षीय संयुक्त अभ्यास, सम्बन्धको निकटता, उच्चस्तरीय शिक्षा, प्रशिक्षण, नेपाली सेनाको शिक्षालयमा चिनियाँ सेनाको अध्ययनलगायत विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय नेपाली सेनासँग राम्रो सम्बन्ध विस्तार गरेको चिनियाँ सेनाले नेपाली सेनालाई इन्जिनियरिङको लागि चाहिने आवश्यक सामाग्रीदेखि भौतिक पूर्वाधारका सामाग्री समेत उपलब्ध गराउँदै आएको छ।

उसले नेपाली सेनालाई छात्रवृत्ति दिएर अध्ययनका लागि चीनमा अवसर दिने र छोटा कोर्समा अधिकतम सहभागी गराउँदै आएको छ। रक्षामन्त्री पोखरेलले बेइजिङमा राजनीतिक भेटघाट समेत गर्नेछन्। अन्य मुलुकका रक्षामन्त्रीहरूसँग साइडलाइन भेटवार्ता हुने उनको सचिवालयले बताएको छ।

नेपालको राजनीतिक अवस्था स्थिर हुँदै विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै विकासमा लगानीको लागि उनले त्यहाँ आग्रह गर्ने पनि उनको सचिवालयले जनाएको छ। नेपाली सेनाले अघि बढाउन लागेको डिफेन्स तथा वार कलेज एवं युनिभर्सिटीबारे पनि छलफल गर्ने सचिवालय अधिकारीले जानकारी दिए। रक्षामन्त्री पोखरेलले सैन्य कार्यक्रममा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सम्बन्धमा नेपालको धारणा र अनुभव राख्ने जनाइएको छ।

उक्त सैन्य सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र चार दर्जन मुलुकका प्रधानसेनापति सहभागी हुने जानकारी चीनले रक्षा मन्त्रालयलाई दिएको छ। एक सयभन्दा बढी मुलुकका सैन्य प्रतिनिधि रहने उक्त फोरममा उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले नेपाली सेनाको साहसिक, विश्व शान्ति र सामाजिक कामबारे धारणा राख्नेछन्।

जानकारी तथा लेखहरु