फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीको औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य

(GMT+08:00) 2018-10-24 16:24:17

नेपाल सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो। हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ। यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो।

प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५ मा झार्ने लक्ष्य लिएको छ। पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरिएको छ। पछिल्लो समय नवजात शिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको राजधानी दैनिकले लेखेको छ।

प्रतिवेदनमा स्वास्थ्य संस्थामार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पुर्याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको संख्या ५८ बाट ७२ प्रतिशत पुर्याइने लक्ष्य निर्धारण गरिएको छ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ। नवजात शिशु तथा प्रसूति सेवा निःशुल्क छ।

नयाँ एचआईभी संक्रमित वार्षिक संख्या हालको ८०१ बाट ७१० जनामा झार्ने तथा पहिचान भएका क्षयरोगीमध्ये उपचारको सफलता ९० प्रतिशत पुर्याइने तय गरिएको छ।

प्रतिवेदनले स्वास्थ्य नीति, रणनीति तथा बिमा ऐनको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन जरुरी रहेको औंल्याएको छ।

सरकारले मध्यमकालीन खर्च संरचना तयार गर्दा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने, आगामी वर्षमा मध्यम आय भएका राष्ट्रमा पुग्ने र सन् २०३० मा दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ।

मध्यमकालीन खर्च संरचनाले समृद्ध नेपाल तथा सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ। साथै, आगामी आर्थिक वर्षमा दोहोरो अंकनजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेगरी १४औं योजनाको बाँकी अवधि कार्यान्वयन गर्ने कार्यक्रमसहित मध्यमकालीन खर्च संरचना तर्जुमा गरिएको छ।

जानकारी तथा लेखहरु