फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन महिनामा एक खर्ब भन्सार राजस्व

(GMT+08:00) 2018-10-25 16:38:25

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कूल १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ। यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिएको राससले जनाएको छ।

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ। मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन्। त्यसमध्ये ९ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन्। त्यसमध्ये सबैभन्दा बढी आयात वीरगन्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्यांकमा उल्लेख छ।

मुलुकमा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा विलासिताका सामानको आयात बढ्दै गएको छ। विभागका अनुसार चालू आवको तीन महिनामा विभिन्न मुलुकबाट नेपालमा कूल ३ खर्ब ७४ अर्बको वस्तु आयात भएको छ।

अघिल्लो आवको यही अवधिको तुलनामा ४३ दशमलव ५ प्रतिशत बढी हो। गत वर्ष यस अवधिमा २ खर्ब ६० अर्ब २० करोडको वस्तु आयात भएको विभागको तथ्यांक छ।

आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ५७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसपछि सबैभन्दा बढी ४० अर्बको फलाम र स्टिलको कच्चा पदार्थ, २९ अर्बको सवारीसाधन, २८ अर्बको मेसिनरी सामान, २२ अर्बको इलेक्ट्रिकल सामान, १७ अर्बको विमान र विमानका सामान आयात भएको विभागको तथ्यांक छ।

कूल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट २ खर्ब ३६ अर्ब रुपैयाँको सामान भारतबाट आयात भएको छ।

जानकारी तथा लेखहरु