फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डुमा चिनियाँ कलाकृति प्रदर्शनी

(GMT+08:00) 2018-10-26 16:49:16

काठमाण्डुमा बिहीबारबाट चिनियाँ कलाकृति प्रदर्शनी सुरू भएको छ। तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरुद्वारा सिर्जित 'क्यालिग्राफी', डो मोडलिङ (लस्सेदार मिश्रणको प्रतिरूपण), चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन्।

उक्त प्रदर्शनी चीनको हुबे छाङच्याङ पब्लिसिङ एण्ड मिडिया ग्रुप कम्पनी लिमिटेडको आयोजना तथा हुबे छाङच्याङ छोङवन इन्टरनेशनल कल्चरल एक्सचेञ्ज कम्पनीको सहआयोजनामा भएको राससले जनाएको छ।

दरवारमार्गस्थित शेर्पा मलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए। उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने बताए।

नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिए।

कार्यक्रममा चिनियाँ कलाकारहरुले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए। उनीहरुले चिनियाँ राष्ट्रपतिको एक क्षेत्र एक मार्ग अवधारणाअनुसार संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरु यहाँ आइपुगेको बताए।

कार्यक्रममा चिनियाँ कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरुप भएको कलाको नमूना कुलपति उप्रेतीलाई हस्तान्तरण गरेका थिए।

जानकारी तथा लेखहरु