फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औद्योगिक क्षेत्र निर्माण प्रक्रिया सुरु

(GMT+08:00) 2018-10-26 16:49:47

नेपाल सरकारले बाँकेको नौवस्तामा स्थापना गर्न लागेको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया औपचारिक रुपमा अगाडी बढेको छ। सरकारले २०७२ चैत १ गते बाँकेको नौवस्तामा प्रदेश स्तरको ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिकाको नौवस्तामा ३ सय ३८ विघा जग्गा अधिग्रहण गरी जग्गाधनी प्रमाणपुर्जा समेत तयार भईसकेको छ। सरकारले २०७३ जेठ २७ गते जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको नागरिकन्यूजले लेखेको छ।

औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अगाडि बढाउन गत बुधबार 'नौवस्ता औद्योगिक क्षेत्र परियोजना' कार्यालय उद्घाटन गरिएको छ। औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ भने इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ। आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कुल आठ अर्ब सात करोड खर्च हुने सरकारको अनुमान छ। औद्योगिक क्षेत्र निर्माण गर्न चालु आव वर्ष २०७५/७६ मा संघीय सरकारले १० करोड र प्रदेश सरकारले पाँच करोड रूपैयाँ विनियोजन गरिसकेको छ।

उक्त क्षेत्रमा आठ कठ्ठादेखि ४० कठ्ठासम्मको प्लट छुट्याइएको छ। सोही क्षेत्रमा औद्योगिक, आवास, प्रशासन, सेवा, भन्सार, इन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका प्लट छुट्याइएको छ। विस्तृत अध्ययन प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लास्टिक, केबल, स्टिल, साबुन, पाइप, काठ, पानी लगायतका सम्भावित उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ।

उक्त औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न इच्छुक तीन सय ५० उद्योगीले अहिलेसम्म आवेदन दिइसकेका छन्।

जानकारी तथा लेखहरु