फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा हुने अन्तर्राष्ट्रिय आयात प्रदर्शनीले नेपाल लाभान्वित हुने

(GMT+08:00) 2018-11-01 16:01:48
अन्तर्राष्ट्रिय बजारमा व्यापार प्रवर्द्धन गर्नका लागि 'चाइना इन्टरनेसनल इम्पोर्ट' प्रदर्शनी हुने भएको छ। आगामी सोमबारदेखि छिमेकी मुलुक चीनको सांघाईमा सो प्रदर्शनी गर्न लागिएको हो। वस्तु, सेवा र लगानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ चीन सरकारको आयोजनामा एक्स्पो हुन लागेको हो। पहिलो पटक हुन लागेको मेलामा विश्वका १ सय ३० देशका प्रतिनिधि सहभागी हुने छन्। मेलामा व्यापार प्रवर्द्धन तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा पर्यटन बोर्ड, लगानी बोर्डका साथै निजी क्षेत्रका उद्यमी व्यवसायीको सहभागिता रहने छ। मेलामा ८० देशका कन्ट्री पेभेलियन रहने तथा १ लाख ५० हजार संस्थागत उपस्थित रहने भएको छ।

चीन सरकारले निःशुल्क रूपमा उपलव्ध गराएको कन्ट्री पभेलियनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल लगानी बोर्ड, नेपाल पर्यटन, बोर्ड तथा निजी क्षेत्रका व्यवसायिक संस्थाहरू नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, फेयर ट्रेड ग्रुप, नेपाल मार्केटिङ इन्टरनेसनलको सहभागिता रहने छ। केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले चीनको सांघाईमा पहिलो पटक हुन लागेको प्रदर्शनीमा वस्तु, सेवा र लगानी प्रवर्द्धन गर्न सघाउ पुग्ने बताउनुभयो।

१ सय ३० राष्ट्रको सहभागिता हुन लागेको चाइना इन्टरनेसनल आयात निर्यात एक्स्पोबाट नेपालको व्यापार प्रवर्द्धन गर्न सघाउ पुग्ने उहाँको भनाइ छ। नेपाली कन्ट्री पभेलियनमा नेपालको वैदेशिक लगानी नीति तथा लगानीको सम्भाव्य क्षेत्रबारे जानकारी उपलब्ध गराइने कारोबार अनलाइनले जनाएको छ।

यस्तै नेपालमा वैदेशिक लगानी गर्न अपनाउनुपर्ने प्रक्रिया एवं उपलब्ध हुने सुविधाबारे जानकारी दिने, नेपालको प्रमुख पर्यटकीय क्षेत्रबारे श्रव्य–दृश्यको माध्यमबाट प्रसार–प्रसार गरिने केन्द्रले जानकारी दिएको छ। प्रदर्शनीमा नेपालका प्रमुख निकासीयोग्य वस्तुहरू गलैंचा, धातु, काष्ठ, पत्थरका मूर्ति, थान्का, नेपाली काइनाइट जडित एवं चाँदीका गरगहना, फेल्ट तथा ऊनीजन्य वस्तु, नेपाली हाते कागजका सामान, पस्मिनाका सामान, नेपाली हस्तकलाका सामान, चिया, सेरामिक्सका सामान राखिने भएको छ। नेपाली निकासिकर्ता र चीनका आयकर्ताबीच व्यापार टु व्यापार मिटिङ हुने भएको छ। मेलामा नेपालको सहभागिताबाट नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्धमा थप योगदान पुग्ने, नेपालमा वैदेशिक लगानी प्रवर्द्धनमा मद्दत पुग्ने, पर्यटनमा प्रवर्द्धनमा सघाउ पुग्नुका साथै चीनसँग रहेको व्यापार घाटा कम गर्न सघाउ पुग्ने केन्द्रले जानकारी दिएको छ।

चीनले नेपाललाई ८ हजार ३० वटा वस्तुमा भन्सार छुटको सुविधा उपलब्ध गराए पनि निर्यात बढ्न सकेको छैन। चीनबाट ठूलो परिणाममा आयात भएकोमा नेपालमा न्यून परिणाममा वस्तु निर्यात हुने गरेको छ। स्वदेशी वस्तुको निर्यात बढाउन नसक्दा चीनसँगको व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको छ । मेला कात्तिक २४ गतेसम्म सञ्चालन हुने छ।

जानकारी तथा लेखहरु