फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो वर्ष नेपालमा इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण

(GMT+08:00) 2018-11-02 14:38:17

यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ । यसअघि २०७३ मा सर्वाधिक ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

मन्त्रालयका अनुसार यो वर्षको उत्पादन गत वर्षभन्दा करिब १० प्रतिशत बढी हो । यो वर्षको धान एक खर्ब ३० अर्ब मूल्यको हुने सरकारी अनुमान छ। २०७४ मा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । धान उत्पादन वृद्धि हुँदा अर्थतन्त्र पनि बलियो हुन्छ ।

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले इतिहासमै सबैभन्दा बढी धान यो वर्ष उत्पादन भएको जानकारी दिनुभयो। रोपाइँको समयमा देशभर मनसुनी वर्षा सक्रिय भएकाले धान उत्पादन बढाउन सहयोग पुगेको हो। किसानले बढी उत्पादकत्व दिने बीउ प्रयोग गर्नु, रोग कीराको प्रकोप नहुनु र रासायनिक मल पनि उपलब्ध भएकाले उत्पादन उत्साहजनक देखिएको छ ।

१५ लाख ५२ हजार हेक्टर धानखेतमध्ये यो वर्ष १४ लाख ८० हजार हेक्टरमा रोपाइँ भएको थियो। यो करिब ९६ प्रतिशत हो। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धानखेती हुन्छ। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशत छ। धान उत्पादन वृद्धिले यो वर्ष कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा पनि उल्लेखनीय योगदान पुग्ने कृषि विज्ञको भनाइ छ।

कृषिको योगदान जीडीपीमा २७ प्रतिशत र कुल ग्रार्हस्थ उत्पादन २०.७५ प्रतिशत छ । जीडीपीमा भने धानको योगदान सात प्रतिशत हाराहारीमा छ। धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपी एक प्रतिशत घटबढ हुन्छ। यो वर्ष प्रक्षेपण गरिएको धानको मूल्यले जीडीपीमा झण्डै एक खर्ब ३० अर्ब ३२ करोड मूल्यको योगदान पुर्याउनेछ ।

उत्पादन बढ्दा पनि अपुग

नेपालको कुल जनसंख्या करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक वर्षभर पेटभर भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ। खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ किलो चामल चाहिन्छ। यो वर्ष स्वदेशमा उत्पादन हुने प्रक्षेपण गरिएको करिब ५४ लाख ३० हजार मेट्रिक टन धान प्रशोधन गर्दा ३६ लाख ९२ हजार चार सय मेट्रिक टन चामल तयार हुन्छ। सय किलो धान प्रशोधन गर्दा ६८ किलो चामल तयार हुन्छ।

यसरी हेर्दा यो वर्ष स्वदेशमा धानबाट उत्पादन हुने चामलले वर्षभरि सारा नेपालीको पेट भर्न तीन लाख सात हजार दुई सय २२ मेट्रिक टन चामल अपुग हुने देखिएको छ। यही चामल नपुगेर भारतसहित तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ। साउनदेखि असोजसम्म १२ अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ। चामलमात्रै सात अर्ब ६३ करोड रुपैयाँको झण्डै दुई लाख मेट्रिक टन आयात भएको छ।

जानकारी तथा लेखहरु