फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परीक्षण सफल

(GMT+08:00) 2018-11-04 15:10:22

मेलम्चीको पानी नेपालको राजधानी काठमाडौँमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ।

चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ। चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दा समेत काम नगरेपछि एक महिनादेखि काम भइरहेको छ।

पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ। पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ।

चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिनुभयो। महाङ्काल, चुच्चेपाटी र सुकेधाराका चुहावट यसअघि नै बन्द भइसकेको छ। वर्षाद्मा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा हाली परीक्षण गरिएको हो।

वर्षाद्मा बढी भएको दैनिक तीन करोड लिटर पानी मेलम्चीको वितरण सञ्जालमा हाली परीक्षण गरिएकोमा हिउँद लागेसँगै ३० प्रतिशतले कमी आएकाले बाँकी परीक्षण गर्न मेलम्चीकै पानी कुर्नुपर्ने उहाँले बताउनुभयो। मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि महाङ्कालचौर ल्याई पुरानो सञ्जालबाट वितरण र नयाँ सञ्जालबाट परीक्षण गरिने निर्देशनालयले जनाएको छ।

दुई महीनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ। पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा आउनेछ। याङ्री र लार्केको आयोजना सम्पन्न भएपछि दैनिक ५१ करोड ९० लाख लिटर पानी राजधानीमा झार्ने लक्ष्य छ। याङ्री र लार्केको पानी ल्याउन विस्तृत परियोजना प्रस्ताव निर्माणको काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

(रासस)

जानकारी तथा लेखहरु