फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिहारका लागि ६३ करोडको सामग्री नेपाल भित्रियो

(GMT+08:00) 2018-11-08 14:56:55

तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा नेपालमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला, केरालगायत फलफूल आयात भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट आयात भएको विभागको तथ्यांकमा छ। सबैभन्दा बढी भारतबाट आयात भएको छ। भारतबाट मात्रै ३५ करोड ८७ लाख रुपैयाँको आयात भएको हो। दोस्रोमा पाकिस्तानबाट आयात भएको विभागको तथ्यांकमा छ। तथ्यांकअनुसार यो अवधिमा २० करोड ८३ लाख रुपैयाँको फलफूल तथा ड्राई फ्रुटका भित्रिएका हुन्। तेस्रोमा अमेरिकाबाट आयात भएको छ। अमेरिकाबाट १२ करोड ३९ लाख रुपैयाँको आयात भएको छ। तिब्बतबाट ९ करोड ७५ लाख, इन्डोनेसियाबाट १ करोड ६३ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख रुपैयाँ बराबरको आयात भएको उल्लेख छ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार चीनबाट मुख्यत: स्याउ आयात हुन्छ। चीनबाट आयात हुने स्याउ मुलुकभरि बिक्री हुन्छ। अन्य फलफूल भने धादिङलगायत वरिपरिका जिल्लामा बिक्री हुने महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र पाठकले बताउनुभयो। संघले तिहारलाई लक्ष्य गरेर करिब ३ सय गाडी फलफूल आयात गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार एउटा गाडीमा १८ देखि ३२ टन फलफूल आयात हुन्छ। पाठकका अनुसार फलफूलमध्ये स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ। मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुँदा चीन र भारतकै भर पर्नुपरेको बताउनुभयो।

नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगन्य रूपमा भित्रिन्छ। जसले गर्दा चीन र भारतकै भर पर्नुपर्ने बाध्यता भएको व्यवसायीहरू बताउँछन्। आयातित फलफूल बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गर्छन्। संघका अनुसार तिहारसँगै थोक बजारमा करिब ६० प्रतिशतभन्दा बढी माग बढ्छ।

यसपालिको तिहारमा फलफूलको माग कम भएको संघको दाबी छ।' 'स्थानीय सरकारले विभिन्न कर उठाएका छन्। ठेला र साइकल व्यापारीलाई दु:ख दिएका छन्,' उहाँले भन्नुभयो, 'विगतको तुलनामा बिक्री ५० प्रतिशत कम छ।' उहाँका अनुसार गत वर्ष करिब ४ सयभन्दा बढी गाडी फलफूल आयात भएको थियो। अहिले ४/५ महिना अगाडि आयात भएकै फलफूल बिक्री भइरहेको संघको दाबी छ। भन्सार दर पनि अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन्। 'सबैभन्दा कम केराको भन्सार करिब ८ हजार थियो,' पाठकले भन्नुभयो, 'अहिले बढेर ८० हजार पुगेको छ।' तिहारलगत्तै छठ पर्व सुरु हुन्छ। त्यसबेला पनि माग वृद्धि हुने संघले जनाएको छ। तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढछ। केरा भारतबाट आयात हुन्छ।

गत वर्षको तुलनामा खुद्रामा भाउ अस्वाभाविक रूपमा बढेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार थोकमा करिब १५ प्रतिशत बढेपनि खुद्रामा करिब ३ सय प्रतिशतले वृद्धि भएको छ। बजार अनुगमन र मूल्य नियन्त्रण गर्ने अधिकार विभागकै हो। विभागले कडाइका साथ अनुगमन गर्न सकेको छैन।

विभागले विनियमावली नबनेको भन्दै अनुगमन कडाइ गर्न नसकेको दाबी गर्दै आएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ जारी भए पनि सञ्चालन गर्नका लागि विनियमावली/मापदण्ड बनेको छैन। जसले गर्दा खाद्य वस्तुको मूल्य अनुगमन गर्न नसकिएको विभागको दाबी हो। साना व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएकाले पनि कारबाहीमा समस्या भएको विभागका महानिर्देशक योगेन्द्र गौचनको बताउनुहुन्छ।

'होलसेलमा करिब १५ प्रतिशत बढेको छ। व्यवसायीले डलरकै कारण मूल्य बढेको बताएका छन्, त्यो स्वाभाविक पनि हो,' महानिर्देशक गौचनले भन्नुभयो, 'चोकचोकमा सञ्चालन भएका पसल चुनौती बनेको छ।' विभागका अनुसार ती पसलहरू दर्ता छैनन्। तिहारको सामग्री बिक्री गर्दा बिलबीजक पनि जारी गर्दैनन्। नयाँ बनेको ऐनअनुसार अनुगमनको क्रममा ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना भएकाले कारबाहीमा केही कठिनाइ भएको जनाएको छ।

'तिहारकै अवसरमा चोकचोकमा पसल सञ्चालन भएका छन् तर तिहारको सामग्री महँगो भएको जानकार भए पनि कारबाही गर्न समस्या भयो,' उहाँले भन्नुभयो। खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने होलसेलमा मूल्य नबढेको दाबी गर्नुभयो। तिहारको सामग्री बिक्री नभए अर्को वर्षका लागि कुर्नुपर्ने बाध्यता भएकाले मूल्य वृद्धि नभएको उहाँले बताउनुभयो।

'चाँडै बेच्न पर्ने भएकाले दुई/तीन महिना अगाडि नै बिक्री गरिसकेका छौं। होलसेलमा व्यवसायीसँग स्टक छैन,' उहाँले भन्नुभयो, 'खुद्रा पसलमा बढेको भए जानकारी भएन।' संघले १५/१५ दिनमा खाद्य वस्तुको मूल्यसूची विभागलाई उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु