फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कतारमा काम गर्न जाने नेपाली श्रमिकका लागि काठमाडौंमै भिसा सेन्टर

(GMT+08:00) 2018-11-10 14:34:52

काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ। कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ। काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ। त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने नागरिकन्यूज डटकमले लेखेको छ।

आवश्यक कागजात पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले प्रस्ट पारेको छ। आप्रवासी कामदारसँग नियुक्तिका सिलसिलामा कुनै शुल्क लिन नहुने अन्तर्राष्ट्रिय श्रम संगठनको नियममा आफ्नो मुलुक प्रतिबद्ध रहेको कतारको भनाइ छ। कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहेपनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुल्ने काम रोक्नका लागि भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले बताउनुभयो।

भिसा सेन्टर खुले पनि भिसा भने कतारबाटै जारी हुनेछ। भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाट हुन्छ। काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारीका लागि आएको कतारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सरोकारवाला निकायसँग समेत भेट गरेको छ।

मन्त्री विष्टले भिसा सेन्टर खोल्नुअघि दुई देशबीच श्रम समझदारीको पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको मन्त्रालय स्रोतले बतायो। कतारी प्रतिनिधिमण्डलले भने कामदारलाई सहज होस् भनेरै काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको भन्दै श्रम समझदारीसँग यसको सम्बन्ध नभएको बताएका छन्।

नेपालले कतार जाने कामदारको न्यूनतम पारिश्रमिक नौ सय र खानाको तीन सय रियाल हुनुपर्ने निर्णय गरेको छ। कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक सात सय रियाल तोकेको छ।

नेपाली अधिकारीले कामदारको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम हुनुपर्ने विषय कतारी प्रतिनिधिमण्डलसामू उठाएको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका विषयमा निर्णय नभए पनि काठमाडौंमा चाँडै भिसा सेन्टर खुल्ने प्रतिनिधिमण्डलका सदस्यले बताए। डिसेम्बर सुरुतिरै भिसा सेन्टर खोल्ने कतारको योजना छ ।

जानकारी तथा लेखहरु