फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विष्फोटकबाट जोगाउन छुट्टै परीक्षणस्थल

(GMT+08:00) 2018-11-11 15:03:26

नेपालको नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित जहाज पार्किङस्थल निर्माण गरेको छ। खतराजन्य विष्फोटक पदार्थबाट असुरक्षित रहेको पाइए जहाजलाई सुरक्षित स्थानमा पार्किङ गरी परीक्षण गर्न छुट्टै पार्किङस्थल निर्माण गरिएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजका लागि नौवटा मात्र पार्किङ रहेकाले सुरक्षा जाँचका लागि सुरक्षित पार्किङ निर्माण गर्न लागिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताउनुभयो।

खतराबाट अन्य जहाज र विमानस्थल सुरक्षित गर्न यो पार्किङले सहयोग पुग्ने गौतमको भनाइ छ। फागुन अन्तिमसम्म पार्किङ निर्माण गरी दुईवटा ठूला जहाज (३३०) र दुईवटा एटीआर ७२ जहाज पार्किङ गरिनेछ। नियमित उडान नगरी लामो समयसम्म जहाजले पार्किङ गर्नुपरे पनि यसलाई प्रयोग गरिने गौतमले बताउनुभयो।

दुई सय १३ मिटर लामो र ६५ मिटर चौडा उक्त पार्किङस्थल विमानस्थल विकास कोषको ४६ करोड लगानीमा निर्माण सुरु गरिएको हो। प्राधिकरणले कोषकै ५९ करोड लगानीमा थप दुई ठूलो जहाज (३३०) पार्किङस्थल निर्माण थालेको छ। अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय ठूला जहाज पार्किङ गर्न सक्ने क्षमता हुनेछ। पार्किङस्थल निर्माणसँगै उडानलगायत अन्य अपरेसन गर्न सहज हुने प्राधिकरणका इन्जिनियर चन्द्रमणि सापकोटाले बताउनुभयो।

पार्किङस्थलको अभावले विमानस्थलको क्षमताभन्दा बढी उडान गर्नुपर्ने अवस्था रहेको पर्यटन व्यवसायीको गुनासो छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले स्थलगत निरीक्षणपछि तोकिएको मितिभित्र जसरी पनि काम सम्पन्न गर्न प्राधिकरण र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। व्यवसाय र नाफाका लागि मात्र नसोची देशका लागि पनि सोचेर समयभित्रै काम सक्नुपर्ने भनाइ अधिकारीको थियो।

पर्यटन क्षेत्रको विकास गरी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विमानस्थल सुधारको काम सुरु गरिसकेको जानकारी मन्त्री अधिकारीले दिनुभयो। विमानस्थलबाट अघिल्लो वर्ष ६७ लाखले यात्रा गरेका थिए भने यस वर्षको नौ महिनामै ६३ लाखले यात्रा गरी सकेको विमानस्थलको तथ्यांक छ।

मन्त्री अधिकारीले नेपालमा बाह्रै महिना पर्यटकीय सिजन रहेको घोषणापछि पर्यटकको संख्या वृद्धि भएको दाबी गर्नुभयो। यस वर्षको सरद ऋतुमा इतिहासमै बढी ५३ वटा हिमाल आरोहणका लागि एक सय ६१ आरोहण दलबाट एक हजार दुई सय ७१ आरोहीले अनुमति लिएका छन्। जसबाट पाँच करोड ५४ लाख सात हजार आठ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ।

नेपाल एयरलाइन्स, हिमालयन र बुद्ध एयरसहित ३१ कम्पनीका जहाजले दैनिक उडान भर्दै आएको छ। विमानस्थलका अनुसार ५२ वटा अन्तर्राष्ट्रिय र तीन सय बढी आन्तरिक उडान गर्दै आएको छ।

जानकारी तथा लेखहरु