फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भक्तपुर पुग्ने पर्यटकको संख्या बढ्यो

(GMT+08:00) 2018-11-11 15:08:39

विश्व सम्पदास्थल भक्तपुर पुग्ने पर्यटकहरु बढेका छन्। भक्तपुर नगरपालिका पर्यटन सेवा केन्द्रका अनुसार चालू आर्थिक वर्षको असोजसम्म भक्तपुर पुग्ने विदेशी पर्यटक १५.६२ प्रतिशतले बढेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले गत वर्षको असोजसम्म जम्मा ४८ हजार आठ सय ७८ जना विदेशी पर्यटक भक्तपुर पुगेको जानकारी दिनुभयो। तर चालू आवको असोजसम्म ५६ हजार पाँच सय १२ जना भक्तपुर पुगेको उहाँ बताउनुहुन्छ।

'गत वर्षको असोजको तुलनामा चालू आवको असोजसम्म सात हजार ६ सय ३४ जना बढी पर्यटक भक्तपुर गेका छन्', उहाँले भन्नुभयो, 'यसमध्ये चीनसहित दक्षिण एसियाका पर्यटकहरु बढी भक्तपुर पुगेका छन्।'

उहाँका अनुसार भक्तपुर पुग्ने चीनसहित दक्षिण एसियाका पर्यटक २१.१२ प्रतिशतले बढेको हो। गत वर्षको असोजसम्म २१ हजार एकसय ६२ जना भक्तपुर पुगेका थिए। चालू आवको असोजसम्म यो संख्या बढेर २५ हजार ६ सय ३२ पुगे।

त्यस्तै तेस्रो मुलुकका पर्यटकहरु भने ११.४२ प्रतिशतले मात्रै बढेको केन्द्र प्रमुख लासिवाले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असोजसम्म तेस्रो मुलुकका २७ हजार सात सय १६ जनामात्रै भक्तपुर पुगे। चालू आवको असोजसम्म ३० हजार आठ सय ८० पुगे।

भक्तपुर नपाले गत वर्ष पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो। उक्त वर्ष दुई लाख २७ हजार ६ सय १४ जना विदेशी पर्यटक भक्तपुर नगर प्रवेश गरेका थिए। जसमा चीनसहित दक्षिण एसियाली मुलुकका ९९ हजार नौ सय ८० जना भक्तपुर पुगे। त्यस्तै तेस्रो मुलुकका एक लाख २७ हजार ६ सय ३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेका थिए।

भक्तपुर नगरले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ पर्यटन शुल्क उठाउँदै आएको छ। तेस्रो मुलुकका पर्यटकहरुलाई भने प्रतिव्यक्ति एक हजार पाँचसय रुपैयाँ प्रवेश शुल्क लाग्छ।

पर्यटक शुल्क भक्तपुर नगरको प्रमुख आन्तरिक स्रोत हो। यसैबाट उसले सबैभन्दा बढी आम्दानी गर्छ। यही आम्दानीबाट नगरको सफाइ, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति बताउनुहुन्छ।

असोजसम्मको तथ्यांक हेर्दा गत वर्षभन्दा चालू आवमा पर्यटन शुल्क बढ्ने देखिएको छ। सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा गरेको छ।

जानकारी तथा लेखहरु