फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको इलाम, अब किबी फलको जिल्ला भनेर चिनिँदै

(GMT+08:00) 2018-11-12 15:22:23

अलैंची, अदुवा, अम्लिसो, अकबरे र चिया मात्र होइन, अब इलामलाई 'किबीको जिल्ला' पनि भनेर चिनाउने आधार तयार गरिँदैछ। सरकारले जिल्लामा किबी फलको व्यावसायिक खेतीका लागि १० खर्ब ३० अर्ब रुपैयाँको परियोजना जिल्लामा सञ्चालन गर्न लागेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडालाई 'किबी जोन' घोषणा गरिएको छ। यो क्षेत्रमा किबीकै लागि १० वर्षे परियोजना सञ्चालन हुने भएको हो। किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा यो रकम खर्च गरिँदै छ। किबीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधनलाई पनि परियोजनाले समेट्ने छ।

जिल्लाका १५ हजार हाराहारी किसानले खेती गरिरहेको किबीको प्रवर्द्धनमा सरकारले समेत सहयोग गर्ने भएपछि किसान हर्षित छन्। सुरुमा उच्च मूल्यका बिक्री भएको किबीले अब बजार पाउने, गुणस्तरीय उत्पादन गर्न र स्थानीयस्तरमै प्रशोधन गर्न सकिनेमा किसान ढुक्क देखिँदैछन्। नागरिकन्यूज डटकमका अनुसार सरकारी सहयोगले किबी खेतीमा जाँगर थपेको किसान बताउँछन्।

किबीको पकेट क्षेत्रका लागि १० हेक्टर, किबी ब्लकलाई सय, किबी जोनलाई पाँच सय र किबीको सुपर जोन घोषणा गर्न एक हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ। परियोजनाका वरिष्ठ कृषि अधिकृत पर्शुराम राउतका अनुसार १० वर्ष चल्ने परियोजनाको ७० प्रतिशत रकम मेसिनरी र ३० प्रतिशत चालू खर्च हुनेछ । चालू वर्षभित्रै यहाँ कार्यालय राखेर परियोजनाको काम सुरु हुने राउतले बताउनुभयो।

जानकारी तथा लेखहरु