फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने

(GMT+08:00) 2018-11-12 15:23:04

सरकारले पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ। ट्रेकिङ क्षेत्रमा काम गर्ने भरियालाई लाइसेन्स अनिवार्य गरेको हो। पर्यटन विभागले लाइसेन्स वितरणको काम थालिसकेको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १८ गते महिना दिनपछि लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो। विभागले कात्तिक १८ बाट तालिम प्राप्त पोर्टर गाइडलाई लाइसेन्स वितरण थालेको विभागका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

'यसअघि पोर्टर गाइडले लाइसेन्स लिनुपर्ने व्यवस्था थिएन,' उहाँले भन्नुभयो, 'पदयात्रा क्षेत्रका मजदुरलाई सक्षम र विश्वसनीय बनाउने उद्देश्यले पोर्टर गाइड लाइसेन्सको व्यवस्था गरेका हौं।' उहाँका अनुसार पोर्टर गाइडको लाइसेन्स लिन सामान्य लेखपढ भए पुग्छ। पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट सात दिने तालिम लिएको हुनुपर्छ। यसरी तालिम लिएर लाइसेन्स प्राप्त पोर्टर गाइडले पदयात्रामा पर्यटकको झोला बोक्नेदेखि गाइड नहुँदा पर्यटकलाई बाटो देखाउनेसम्मको काम गर्न पाउने उहाँले बताउनुभयो।

लाइसेन्स नहुँदा पोर्टर गाइडलाई विभिन्न ठाउँमा समस्या देखिएपछि पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० संशोधन गर्दै ट्रेकिङ पोर्टर गाइडलाई पनि लाइसेन्स उपलब्ध गराउन थालिएको विभागले जनाएको छ। विभागका अनुसार मजदुरहरुसमेत लाइसेन्स लिएर काम गर्न तयार छन्। हालसम्म करिब आठ सयले पोर्टर गाइडको तालिम लिएका छन्। यी सवैलाई पोर्टर गाइडको लाइसेन्स उपलब्ध गराएर जिम्मेवार पर्यटनकर्मी बनाइने विभागको भनाइ छ।

जानकारी तथा लेखहरु