फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले अर्को वर्ष सन् २०१९ मा गैंडाको गणना गर्ने

(GMT+08:00) 2018-11-13 14:14:04

अर्को वर्ष नेपालमा गैंडाको गणना गरिने भएको छ । सन् २०१९ को सुरुमै गणना सुरु हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो।

'अर्को वर्ष गैंडाको गणना गर्ने सोच बनाएका छौं । अहिले आर्थिक स्रोतहरु खोजी गर्दैछौं,' उहाँले भन्नुभयो।

अनलाइनखबरका अनुसार यसअघि सन् २०१५ मा नेपालमा गैंडाको गणना गरिएको थियो। त्यतिबेला नेपालमा गैंडाको संख्या ६४५ थियो । तिमध्ये सबैभन्दा धेरै चितवनमा ६०५ वटा थिए। हाल चितवन, पर्सा, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाहरु छन्। अहिले गैंडाको संख्या बढेको अनुमान छ।

सन् २०१९ मा हुने गैंडाको गणनालाई महत्वपूर्ण मानिएको छ । किनभने राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुले कति वटासम्म गैंडालाई धान्न सक्छ भनेर बुझ्नका लागि पनि गणना जरुरी रहेको खड्का बताउनुहुन्छ। विश्वमै दुर्लभ एकसिंगे गैंडा नेपालमा पाइन्छ जुन पर्यटकको मुख्य आकर्षण हो। त्यसैले एकसिंगे गैंडाको प्रभावकारी संरक्षणका लागि सरकारले सन् २०१७ देखि २०२१ सम्म पाँच वर्षे कार्ययोजना अनुसार काम गरिरहेको छ। यसका लागि झन्डै ५६ करोड खर्च हुने अनुमान छ।

हाल नेपालमा चोरी शिकारीको कारणले भन्दा प्राकृतिक कारणले गैंडाहरुको मृत्यु हुने गरेको छ । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा प्राकृतिक कारणले मरेको तथ्यांक छ। यो तथ्यांक निकुञ्जले अपेक्षा गरेको भन्दा धेरै हो ।

निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउन नसकेर १ र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भएको थियो । त्यसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेका थिए। त्योमध्ये एउटा गैंडा तस्करले मारेका थिए । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन्। सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए।

जानकारी तथा लेखहरु