प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ। अनलाइन खबरका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुकाङ सँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
'समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं,' प्रधानमन्त्री ओलीलाई उधृत गर्दै उहाँका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भन्नुभयो।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौदेखिको सम्बन्ध रहेको स्मरण गर्दै भन्नुभयो, 'हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं। हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं।'
चिनियाँ मन्त्री सुकाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभयो। गतवर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभएको थियो।