फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कागज कटाइ काठमाडौंमा जारी चिनियाँ मेलाको आकर्षण

(GMT+08:00) 2018-11-16 15:30:59

रातो कागजलाई तीनकुने बनाएर उनी कैँचीले बीचबीचबाट काट्दै प्वाल पार्दै थिइन् । तीन घण्टाको मिहिनेतपछि आकर्षक फुलबुट्टे पर्दा तयार भयो। ह: होङले यसरी घरको ढोकामा झुन्ड्याइने परम्परागत च्यान् च् (कागजको बुट्टेदार पर्दा) बनाउँदै गरेको हेर्न आगन्तुकहरूको भीड लागेको थियो । चिनियाँ फेस्टिभलको पहिलो दिन मंगलबार होटल याक एन्ड यतीमा चिनियाँ कलाहरूमा झुरुम्मै थिए । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित फेस्टिभलको यो आठौं संस्करणमा परम्परागत र आधुनिक कला राखिएका छन् ।

चीनमा दोस्रो शताब्दीमा हान वंशको समयदेखि ज्यान्झी ढोकामा झुन्ड्याउने चलन सुरु भएको हो। सिहान प्रान्तकी ५२ वर्षीया होङका अनुसार, अहिले पनि चिनियाँहरूका घरमा यस्तो कागजी पर्दा टाँग्ने गरिन्छ। घर, पूजाआजा र विवाहमा राखिने गरी त्यस्ता पर्दाहरू फरकफरक हुन्छ।

होङले यो सीप आफ्ना अग्रजबाट सिकेकी हुन् । २० वर्षदेखि उनी किशोर पुस्तालाई यस्तै कागजी पर्दा बनाउन सिकाइरहेकी पनि छन् । उनका अनुसार, त्यस्ता पर्दा पहिले रुखका पात, रेशमी कपडा, चाँदीको पाताले बन्ने गरेका थिए भने अचेल छालाको पनि बनाइन्छ, कान्तिपुर अनलाइनले खबर लेखेको छ ।

फेस्टिभलमा चीनकै वु गोवेनले पाँच वर्ष लगाएर कागज काटेर बनाएको कला पनि राखिएको छ। आठ सय सेन्टिमिटर लामो र ३६ सेन्टिमिटर चौडा त्यो कलामा बेइजिङमा आयोजित क्विमिङ फेस्टिभलका बेला बेन नदी किनारमा देखिएका ६ सय ८८ मानिस, ७५ घरपालुवा, १ सय २० रुख, २८ डुंगाजस्ता आकृति समेटिएका छन् । फेस्टिभल बुधबारसम्म चल्नेछ ।

जानकारी तथा लेखहरु