फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्ध

(GMT+08:00) 2018-11-17 14:12:47

गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई चीनको हाइनान प्रान्तले पूर्ण छात्रवृत्तिमा प्राविधिक पढाउने भएको छ। दुई प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध जोड्दै उक्त समझदारी भएको हो।

४ वर्षे डिप्लोमा पढ्न प्रत्येक वर्ष ४ जनाका दरले गण्डकी प्रदेशका विद्यार्थी पठाउनेसहितका ७ बुँदे समझदारी भएको छ। मितेरी साइनो गाँस्ने समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सु च्युनले हस्ताक्षर गर्नुभएको अन्नपूर्ण पोस्टले लेखेको छ।

यो सम्बन्धले २ प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताउनुभयो। ऊर्जा, प्राविधिक शिक्षा, वाणिज्य र व्यापार तथा सांस्कृतिक विकास र प्रवर्द्धनका समझादारी दुई प्रदेशबीच भएको पनि उहाँले सुनाउनुभयो। गण्डकी प्रदेशले स्थापना गर्ने भनेको प्राविधिक महाविद्यालयका लागि हाइनानले सघाउनेबारे यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उक्त प्रान्तको भ्रमण गएका बेला सहमति भएको थियो। मन्त्री बस्नेतले त्यसबारे पनि छिटै उपलब्धि देखिने जानकारी दिनुभयो।

गण्डकीसँग मित लगाउन आएको चिनियाँ प्रतिनिधि मण्डलकै एक टोलीले मुस्ताङमा सौर्य ऊर्जा उत्पादनको अध्ययन पनि गर्दै। सौर्यऊर्जाको सबैभन्दा धेरै सम्भावना मुस्ताङ र मनाङमा छ। गण्डकीको राजधानी पोखरा र हाइनान राजधानी हाइखौ नगरबीच पनि मितेरी सम्बन्ध स्थापित भएको छ।

जानकारी तथा लेखहरु