फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका सात सहरमा वायुको गुणस्तर खस्कियो

(GMT+08:00) 2018-11-19 14:20:11

एक सातादेखि नेपालका सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक रहेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर मिलियन) भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन। श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ। यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो। विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ।

वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ।

चितवनको वायुको स्तर सौरहामा ६९ देखि ७८, दाङमा ८७, सिमरामा ८७, पोखरा विश्वविद्यालय स्टेसनमा ५१ देखि ५४, भैंसेपाटीमा २१, धुलिखेलमा ३८ र पुल्चोकमा ४७ पीपीएम पुगेको छ। वातावरण विभागले रत्नपार्क, शंखपार्क, भैंसेपाटी, वीरेन्द्र स्कुल भक्तपुर, पुल्चोक ललितपुर, धुलिखेल काभ्रे, दाङ, नेपालगन्ज, सिमरा, सौरहा, पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल पोखरा, लुम्बिनी र सुनसरीको झुम्कामा मेसिन राखेर वायुप्रदूषण मापन गर्दै आएको छ।

आइतबार पुल्चोक, पोखरा, सिमरा, चितवन, रत्नपार्क, नेपालगञ्ज र दाङमा वायुको स्तर ६० देखि एक सय १८ पीपीएमभन्दा बढी रह्यो। यो दिन वीरेन्द्र स्कुल, गण्डकी बोर्डिङ पोखरा, रूपन्देही र झुम्का स्टेसनले प्रदूषण मापन गरेनन्।

जानकारी तथा लेखहरु