फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

(GMT+08:00) 2018-11-19 14:21:55

नेपालमा जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सोमबारबाट वितरण हुँदैछ। पाँचथरको फिदिममा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। नेपालको प्रशासनिक इतिहासमा नै यो सूचना प्रविधिमा आधारित नयाँ फड्को हो।

काफ्लेका अनुसार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ। 'सम्पूर्ण तयारी भइसकेको र केन्द्रबाट १८ जनाको टोली सोमबार बिहानै पाँचथर प्रस्थान गर्ने छ,' उहाँले भन्नुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त कार्यक्रमको शुभारम्भ गर्ने तय गरिएको थियो।

पाँचथर जिल्लाका एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एक जना कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिने छ। कार्यक्रममा गृहमन्त्री थापा, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, गृहसचिव प्रेमकुमार राई, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेलगायतको सहभागिता हुनेछ।

मङ्गलबारदेखि पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य निरन्तर रुपमा अगाडि बढ्ने जानकारी समेत महानिर्देशक काफ्लेले दिनुभयो। विवरण सङ्कलनको समयमा लिइएको वायोमेट्रिक विवरण वितरणको समयमा लिइने वायोमेट्रिकसँग प्रमाणीकरण भएपछि मात्र व्यक्तिलाई परिचयपत्र वितरण गरिने छ।

परिचयपत्र वितरणका लागि पाँचथरमा ५२ हजार नागरिकको विवरण सङ्कलन भइसकेको छ। त्यसैगरी, सिंहदरबारका उच्च पदस्थ व्यक्तित्व र कर्मचारीको समेत विवरण सङ्कलन भइसकेको छ।

परिचयपत्र वितरण प्रक्रियालाई मङ्लबारदेखि नै मुलुकभरि अभियानको रुपमा अगाडि बढाइने विभागले जनाएको छ। अबको तीन वर्षभित्र १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई यो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ।

पाँचथर जिल्लाका एकलाख दशहजार नागरिक र सिंहदरबारका उच्च पदस्थ व्यक्तित्वसहित सातहजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिने विभागले जनाएको छ।

त्यसैगरी, दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचय–पत्र वितरण गरिनेछ। उहाँका अनुसार, शुरुमा यो परिचयपत्रलाई 'जी टु जी' (सरकारदेखि सरकारसम्म) र त्यसपछि 'जी टु सी' (सरकारदेखि जनतासम्म¬) पु¥याइने नीति लिइएको छ।

नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरीलाई समेत यो परिचय–पत्रले हटाउने बताउँदै उहाँले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबै नेपालीले यो राष्ट्रिय परिचयपत्र सजिलै प्राप्त गर्न सक्ने जानकारी दिनुभयो।

चिप्स र यूनिक कोडसहितको यो परिचय पत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै आंैलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन सावित हुने विश्वास केन्द्रले लिएको उहाँले बताउनुभयो। यस कार्डमा सम्बन्धित व्यक्तिको सानो तस्विर समेत अंकित हुनेछ।

यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने बताइएको छ। यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैर आवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय–पत्र (वायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो।

त्यसपछि, मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो।

जानकारी तथा लेखहरु