फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रालयको समीक्षा गरिँदै

(GMT+08:00) 2018-11-21 14:58:12

नेपालका प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यप्रगति समीक्षा गर्ने हुनु भएको छ। नयाँ बजेटसँगै असार अन्त्यमा मन्त्रालयले पेस गरेका कार्ययोजनाका आधारमा ओलीले आज बुधबारदेखि पर्सि शुक्रबारसम्म सम्बद्ध मन्त्री र सचिवहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

'गत असारमा सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए,' प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भन्नुभयो, 'त्यो कार्ययोजनाअनुसार के–के काम कसरी भयो भन्ने समीक्षा हुनेछ।' मन्त्रालयका कामलाई 'रेटिङ' गरिने उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयले विगतका प्रतिबद्धता र चारमहिने अवधिको प्रगति विवरण भरेपछि कामको तथ्यांक निस्कने सफ्टवेयर व्यवस्था गरेको छ।

त्यसैका आधारमा मन्त्रालयको कार्यप्रगति मूल्यांकन हुने कुँवरले जानकारी दिनुभयो। साउनदेखि नै महिनैपिच्छे समीक्षा गर्ने भनिए पनि सफ्टवेयरमा असोजदेखि मात्र विवरण भर्न थालिएको थियो। मन्त्रालयहरूले चार महिनाको विवरण एकै पटक भरेका छन्।

तीन दिनसम्म चल्ने समीक्षाबाट काममा के–के समस्या छन्, पत्ता लगाउने र थप कार्ययोजना तयार गरिने प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। सरकारका काम प्रभावकारी नरहेको भन्दै आलोचना भइरहेका बेला समीक्षा हुन लागेको हो। बजेटको पहिलो दुई महिनाको समीक्षामा करिब ७ प्रतिशत विकास बजेट खर्च भएको मूल्यांकन गरिएको थियो। जेठ १५ मा बजेट आए पनि अपेक्षित खर्च हुन सकेको छैन। बजेट खर्चको अनुपातको पनि समीक्षा हुँदै छ।

सरकार बनेपछि पहिलो पटक मिहिन समीक्षा हुन लागेकाले यसबाट मन्त्री र कर्मचारीहरूको क्षमताको मूल्यांकन पनि हुने प्रधानमन्त्रीनिकट स्रोत बताएको छ। धेरै मन्त्रीका काममा प्रधानमन्त्री सन्तुष्ट छैनन्। मन्त्रीहरूलाई थप जिम्मेवार बनाउने वा नयाँ विकल्पमा जाने भन्ने निर्णय गर्न पनि समीक्षाले सघाउने बालुवाटार स्रोतले जनाएको छ।

जानकारी तथा लेखहरु