फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले ७७ वस्तुको उत्पादन बढाउन नेपाललाई प्राविधिक सहयोग गर्ने

(GMT+08:00) 2018-11-22 14:36:21

संयुक्त राज्य अमेरिकाले निर्यातमा नेपाललाई भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्ने भएको छ। भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लगानी वृद्धि गर्ने, बजार व्यवस्थापन, गुणस्तर उत्पादनका लागि तालिम उपलब्ध गराउने लगायतका प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको कारोबार अनलाइनले लेखेको छ।

अमेरिकाको वाशिङ्टन डिसीमा हालै सम्पन्न भएको नेपाल अमेरिका ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क (टिफा)को चौथो बैठकमा अमेरिकाले भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्न तयार भएको हो। सन् २०१५ देखि अमेरिकाले विभिन्न ७७ वटा वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको बताउनुभयो। ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि आवश्यक पर्ने सबै प्राविधिक सहयोग गर्नको लागि अमेरिका तयार रहेको उहाँले जानकारी दिनुभयो। वस्तुको उत्पादन बढाउनका लागि लगानी, गुणस्तरीय वस्तु उत्पादनको लागि आवश्यक पर्ने तालिमदेखि प्राविधिक सहयोग गर्न अमेरिका तयार भएको उहाँको भनाइ छ।

"हामीले गार्मेन्टको निर्यात बढाउनका लागि बैठकमा प्रस्ताव राखेका थियौं," सहसचिव सैजुले भन्नुभयो, "गार्मेन्ट निर्यातको लागि संसदमा प्रस्ताव पेश गर्छौं भनेर आश्वासन दिनुभएको छ।" गार्मेन्ट निर्यातको लागि अमेरिकाको संसदबाट पारित गर्नुपर्ने हुन्छ।

अमेरिकाले सन् २०१५ देखि आगामी २०२५ सम्म ७७ वटा वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ। स्वदेशी ७७ वटा वस्तुको निर्यातमा भन्सार छुटको सुविधा भएपनि सो सुविधा दिएका वस्तुको भने निर्यात बढ्न सकेको छैन। अमेरिकाले ठूलो संख्यामा वस्तुको माग गरे पनि पर्याप्त उत्पादन नहुँदा भन्सार छुट दिएका वस्तुको निर्यात बढ्न सकेको छैन। पछिल्लो समय अमेरिकामा स्वदेशी वस्तुको निर्यात पनि घट्दै गएको छ। अमेरिकाले ७७ वटा वस्तुलाई भन्सार छुटको सुविधा दिए पनि निर्यात बढ्न नसकेको सैंजुले जानकारी दिए। सन् २०१५ मा अमेरिकाले ७७ वटा वस्तुको भन्सार छुट सुविधा दिए पनि १९ वटा वस्तुमात्र निर्यात हुने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ। भन्सार छुटमा आर्थिक वर्ष २०७३-७४ मा ८७ करोड ४४ लाख १९ हजार रुपैयाँको निर्यात भएको छ। आर्थिक वर्ष ०७४-७५मा ७६ करोड ६९ लाख ८९ हजार रुपैयाँको निर्यात भएको छ।

शून्य भन्सारमा ब्याग, सल, स्काप, मफलर, उलन सल, टेक्स्टाइल, ब्लांकेट, ह्याट, ट्राभलिङ झोला, गलैँचा, कम्बल, लगेजलगायतका उत्पादन निर्यात भएको छ। अमेरिकाले स्वदेशी वस्तुको उत्पादनको माग धरै गरे पनि उत्पादन नहुँदा निर्यात गर्न नसकिएको मन्त्रालयले जानकारी दिएको छ। अमेरिका लगायतका अन्य मुलुकबाट नेपालमा लगानी भित्राउने गरी नीतिगत सुधार भइरहेकाले नेपालमा लगानी भित्राउनका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। वैठकमा द्विपक्षीय व्यापार सहजीकरण, लगानी तथा प्रविधि हस्तान्तरणको विषयमा छलफल भएको थियो। नेपालले हस्तकलाका सामान, तयारी पोशाक, भ्रमण सामग्री, पस्मिना, गार्मेन्टलगायतका उत्पादन अमेरिकामा निर्यात गर्दै आएको छ।

टिफा बैठकमा बौद्धिक सम्पत्ति अधिकारको विषयका साथै श्रम, कानुन कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो। मन्त्रालयका अनुसार सन् २०१३ मा अमेरिकामा ७ करोड १४ लाख अमेरिकी डलरको स्वदेशी वस्तुको निर्यात भएको थियो। यस्तै, सन् २०१४ मा ८ करोड अमेरिकी डलरको निर्यात भएकोमा स्न २०१५ मा आएर घटेर ७ करोड ६७ लाख अमेरिकी डलरको निर्यात भएको थियो। सन् २०१६ मा ८ करोड ८४ लाख अमेरिकी डलरको निर्यात भएकोमा स्न २०१७ मा निर्यातमा सामान्य घटेर ८ करोड २७ लाख अमेरिकी डलरमा झरेको मन्त्रालयको तथ्याङले देखाएको छ। टिफा बैठकमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका गएको थियो।

जानकारी तथा लेखहरु